Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुनै बेला दाहालका विश्वासपात्र शर्मा अहिले ११ वटा असहमति पत्र सहित बिरोधमा

मैले माओवादी आन्दोलनको रक्षा गर्दै बलियो पार्टी बनाउन बिनाकुनै पूर्वाग्रही ढंगले प्रस्ताव गरेको हुँ, शर्माले भने, पार्टी बैठकमा छलफलका लागि राखिएको हो । छलफल र बहसले नै पार्टी बलियो हुन्छ भन्ने मेरो विश्वास हो । शर्माले महाधिवेशन, विधान सम्मेलन र केन्द्रीय समितिमा आफूले राखेका फरक मतका आधारमा अध्यक्ष दाहालले पूर्वाग्रही ढंगले व्यवहार गरेको आरोपसमेत लगाएका छन् । खुमलटारबाट फलानो एमालेमा जाँदै छ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो, उनले थपे, मूल नेतृत्व नै पार्टी फुटतिर उन्मुख छ ।

गत माघमा भएको केन्द्रीय समितिमा शर्माले नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गरेपछि गत जेठमा पोखरामा भएको गण्डकी प्रदेशस्तरीय पार्टी प्रशिक्षणमा दाहालले पार्टी फुटाउने षड्यन्त्र भएको बताएका थिए । दाहालको त्यही अभिव्यक्ति देशभर फैलिएको शर्माको दाबी छ ।

देशभर यसको असर देखा पर्न थाल्यो । फुटाउने जनार्दनले हो भनेर बालुवाटारबाटै भनिदिएपछि कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ,उनले लेखेका छन्, यस विषयमा देशभरिबाट दैनिक सयौंले फोन गरी पार्टी फुट्दै हो भनी सोध्ने गरेका छन् । यो कुरा अन्य राजनीतिक दल, सुरक्षा निकाय, ब्युरोक्रेसीसमेतमा चासोको विषय बनेको छ । उनले पार्टीभित्रका विवाद र प्रश्नहरूलाई सम्बोधन गर्नुको साटो अध्यक्ष दाहालबाटै नयाँ–नयाँ अन्तरविरोध सिर्जना गर्ने गरिएको समेत दाबी गरेका छन् । ‘स–साना अन्तरविरोध समाधान गर्न झन् ठूलो अन्तरविरोध सिर्जना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले काम गरेको छ, उनले लेखेका छन् ।

२०७८ पुस दोस्रो साता काठमाडौंमा प्रत्यक्ष निर्वाचित नेतृत्व हुनुपर्ने र नेतृत्व हस्तान्तरणको मागलाई विशेष अधिवेशनको घोषणा गरी दबाएको शर्माको भनाइ छ । त्यसबेला घोषणा भएको विशेष महाधिवेशन अझै हुन सकेको छैन । अध्यक्षमा दाहाललाई चयन गर्दै सकिएको महाधिवेशनले अपूर्ण केन्द्रीय समिति चयन गरेको थियो । केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन भने पदाधिकारी चयन हुन आठ महिना लागेको थियो । आठौं महाधिवेशनको समापनपूर्व नै विशेष महाधिवेशनको घोषणा गरेर महाधिवेशनको महत्त्वलाई हलभित्रै समाप्त पारेकामा दाहालले जवाफ दिनुपर्ने उनको माग छ । गत फागुनमा भएको विधान महाधिवेशनमा पनि नेतृत्व हस्तान्तरण हुनुपर्ने, नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चयन हुनुपर्ने माग उठेको थियो । त्यसबेला विधानमा केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रावधान पारित भएको थियो ।

२०७८ पुसमा सम्पन्न आठौं अधिवेशनमा हालका उपमहासचिवद्वय वर्षमान पुन र शर्मा महासचिवका प्रमुख दाबेदार थिए । तर दाहालले महासचिवमा देव गुरुङलाई ल्याए । दाहालले ‘पार्टी नेतृत्व ठूलो त्याग, विचारबाट मात्र जन्मिने भन्दै आक्रोश पोखेका थिए । २०७९ को आम निर्वाचनपछि प्रधानमन्त्री भएका दाहालले शर्माले पार्टी फुटाउन देशव्यापी अभियान चलाएको निकट नेतासँग भनेका थिए ।

‘सरकारमा रहँदा कहिले जनार्दन त कहिले वर्षमानका विरुद्ध बालुवाटारबाटै गरिएका दुष्प्रचारसम्बन्धी प्रश्न’ को उत्तर दाहालले दिनुपर्ने शर्माको माग छ । उनले ‘जसबारे समीक्षा, स्पष्ट छलफल, आलोचना–आत्मालोचनातिर नलागी पार्टी फुट्दै छ भनेर आम पंक्तिलाई भ्रमित गर्ने, त्रसित गर्ने, सांसदहरूले मेराविरुद्ध हस्ताक्षर गरिसके भनेर अफवाह फैलाउने, जसले पार्टी र नेतृत्वलाई नै ठूलो क्षति पुर्‍याइरहेको छ, शर्माको प्रश्न छ । शर्माले आफू २०७८ मा अर्थमन्त्री हुँदा एक व्यापारीका नाममा विदेशबाट शंकास्पद रूपमा आएको ४० करोड रुपैयाँबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकलाई छानबिनका लागि गरेको आग्रहलाई प्रधानमन्त्री भएका बेला दाहालले प्रतिशोध साध्न राज्य शक्तिको दुरुपयोग गर्न खोजेको भन्दै प्रश्न उठाएको स्रोत बताउँछ ।
अध्यक्ष दाहालले नै नेताहरूलाई फुटाउन समानान्तर कमिटीहरू बनाएको समेत शर्माको आरोप छ । माओवादीनिकट अखिल क्रान्तिकारीको २०७८ असोज राष्ट्रिय सम्मेलनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरे पनि पवन कार्की समूहले समानान्तर समिति बनाएको थियो । आफु समर्थक सिंहको विरुद्ध समानान्तर समिति बनाउन दाहालको हात रहेको शर्माको आरोप छ । २०७९ को निर्वाचनमा कांग्रेससँग गठबन्धन गरे पनि प्रधानमन्त्रीका लागि त्यसलाई तोडेर एमालेसँग सहकार्य र त्यसपछि राष्ट्रपतिमा कुरा नमिल्दा दुई महिनामै कांग्रेससित गठबन्धन र फागुनमा फेरि एमालेसँग मिल्नुको औचित्य पुष्टि गर्न दाहाललाई शर्माले चुनौती दिए । दाहाल संघीयता कार्यान्वयनमा समेत चुकेको शर्माको ठहर छ । २०७९ फागुनमा कोशी प्रदेश नामकरण गर्ने बेलासमेत अध्यक्ष दाहालले किराँत नाम जोड्न असहमति जनाएकामा पनि शर्माले प्रश्न गरेका छन् ।

अध्यक्षको कार्यशैलीप्रति प्रश्न गरेकै कारण कार्यक्षेत्रबाट बेदखल गर्ने प्रवृत्तिप्रति शर्माले तिखो टिप्पणी गरेका छन् । माओवादीले विगतका मुद्दा भुल्दा आन्दोलनमा साथ दिएका वर्ग पनि अलग हुँदै जानुमा मुख्य गरी गलत नीति र व्यवहार जिम्मेवार रहेको उनको भनाइ छ । पार्टीमा परिवारवाद हाबी भएपछि आम जनताबाट अलग हुने अवस्था आएको भन्दै दाहालको नाम नलिई उनले सचिवालयदेखि टिकट वितरण, पार्टी जिम्मेवारीमा दाहालले छोरी, ज्वाइँ, बुहारीलाई अघि सारेको संकेत गरेका छन् । अध्यक्षविरुद्ध फरक मतलाई निषेध गरेको समेत उनको आरोप छ । ‘पार्टीभित्र अन्तरसंघर्ष सञ्चालन र व्यवस्थापन गर्ने कार्यप्रति अरुचि बढ्दै गयो । फरक मतको सम्मान गर्ने संस्कार मासिँदै गयो । कम्युनिस्ट स्पिरिटअनुसार सामूहिक छलफल, बहसको परिपाटी कमजोर हुन पुग्यो, शर्मा भन्छन्, पार्टीलाई आम जनताबाट अलगथलग मात्र पारिएन, माथिदेखि तलसम्म परिवारवाद हाबी गराइयो ।

सोमबार स्थायी समिति बैठकपछि पार्टी अन्तरसंघर्षबारे सोधिएको प्रश्नमा दाहालले भने, केही हुँदैन सबै मिलेर जान्छ । तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही हुँदैन, उनको भनाइ थियो । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले अध्यक्ष दाहालले पार्टी निर्माणका लागि आत्मसमीक्षा गरी पार्टी निर्माणमा लाग्ने कमै सम्भावना भएको बताए । पार्टीभित्र उठेका जायज फरक मतलाई सम्बोधन गरी मूल नेतृत्व अघि बढ्ने देखिँदैन, उनले भने, माओवादीको मूल नेतृत्वले जतिसुकै पार्टी निर्माणका लागि आन्दोलन भने पनि सत्तामोह त्याग्ने देखिँदैन । अब पनि सिंहदरबारमा जाने अवसर आए अध्यक्ष प्रचण्ड नै अघि सर्ने देखिन्छ ।

कुनै बेला दाहालका विश्वासपात्रका रूपमा चिनिन्थे शर्मा । तर, उनै शर्मा अहिले दाहालको कटु आलोचक बनेका छन् । दाहाल र शर्माबीचको सम्बन्ध केही वर्षयता हार्दिकतापूर्ण छैन । २०७८ पुसको महाधिवेशनले दुईबीचको दूरी थप बढायो ।

२०७८ माघमा भएको पार्टी महाधिवेशनमा दाहालले शर्मालाई महासचिव बनाउने भने पनि पदाधिकारी चयन गर्ने बेला देव गुरुङलाई बनाए । त्यसपछि शर्मा दाहालको किचन क्याबिनेट बाट बाहिरिए । रुकुम पश्चिमबाट निर्वाचित शर्मा पार्टीमा जिम्मेवारीविहीन जस्तै छन् ।

फागुन दोस्रो साता स्थायी समितिले नेताहरूको कार्यविभाजन गर्नुअघि उनी वाग्मती प्रदेश इन्चार्ज थिए । कार्यविभाजनप्रति असन्तुष्टि जनाउँदै शर्माले नोट अफ डिसेन्ट लेखेका थिए । उनले जनप्रतिनिधिले पार्टीको जिम्मेवारी नलिने नीतिमा अध्यक्ष दाहालमाथि नै प्रश्न गरेका थिए । माओवादी विधान अधिवेशनमा शर्माले प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयन हुनुपर्ने लबिइङ गरेका थिए । केन्द्रीय समिति बैठकमा समेत शर्माले नेतृत्वमा रहेका नेताहरूले अवकाश लिएर युवालाई हस्तान्तरण गर्नुपर्ने धारणा राखेका थिए ।

साढे तीन दशकदेखि पार्टीको नेतृत्व गर्दै आएका दाहालको नीति तथा कार्यशैलीप्रति असहमति जाहेर गर्दै शर्माले उनको नेतृत्वमा पार्टी बन्न नसक्ने निष्कर्ष निकालेका छन् । उनले आफ्नो लिखित प्रस्तावमा दाहालले नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव मात्र गरेका छैनन्, माओवादी कमजोर हुनुको मुख्य जिम्मेवारीसमेत लिनुपर्ने बताएका छन् । उनले ‘यस प्रस्तावलाई कुनै आग्रह पूर्वाग्रहका रूपमा नलिई पार्टी निर्माणका लागि गरिएको बहसको विषयका रूपमा ग्रहण गरिनेछ भन्ने विश्वास लिएको बताएका छन् ।


सम्बन्धित समाचार