Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुमार पौडेलको मृत्यु मुठभेडमै : गृहमन्त्री

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्युका विषयलाई लिएर थुप्रै शंका उपशंका गरिएको बेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरीसँग मुठभेडमै भएको दाबी गरेका छन् । सो घटनालाई मानव अधिकार आयोगले पनि छानबिन गरिरहेको छ । सोमबार बसेको संसदको राज्यव्यवस्था समितिको बैठकमा मन्त्री थापाले पौडेल प्रहरीसँगको मुठभेडमै मारिएको जिकिर गरेका हुन् । दुई मोटरसाइकलमा आइरहेका चार जनाले प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडी फायर गरेकाले प्रहरी टोलीले पनि आत्मरक्षाका लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रका आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वाग्मती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको दाबी पनि गृहमन्त्रीले गरेका छन् । घटनास्थलबाट मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र तीनमा लाग्ने गोली ६ थान तथा विस्फोटका लागि प्रयोग हुने केही सामाग्री, अखिल नेपाल भूमिहीन सुकुमवासी संघ लेखिएको कसैको नाम उल्लेख नगरिएको परिचय पत्र २ सय थान, ना २२ प ६४ नम्बरको पल्सर मोटरसाइकल एक थान र अनटेस्ट एफजेड मोटरसाइकल एक थान बरामद भएको जानकारी पनि गृहमन्त्री थापाले दिए ।
तर पूर्वगृहमन्त्रीसमेत रहेका नेकपाकै सांसद जनार्दन शर्माले भने गृहमन्त्री थापाको जवाफको प्रतिवाद गरेका छन् । राज्य व्यवस्था समितिकै बैठकमा शर्माले प्रहरी र गृहमन्त्रीको रिपोर्टमा विश्वास गर्ने आधार नभएको टिप्पणी गरेका हुन् । सांसद शर्माले भने, प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ । तर जनताको पनि रिपोर्ट छ, त्यसले पौडेलको मृत्यु मुठभेडमा भएको भन्दैन । यही असार ५ गते दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेही नदी नजिक जंगलमा प्रहरीको गोलीबाट पौडेल मारिएका थिए ।