Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सकभर सबै वैकल्पिक शक्ति एक भएर अघि बढ्ने कुलमान घिसिङको योजना रहेको छ । उज्यालो नेपाल पार्टी निर्माणमा खटिएका घिसिङ शनिबार बेलुकी बालेन्द्रको निवास तीनकुने पुगेर छलफल गरेका थिए। छलफल सकेपछि उनेपाका नेताहरूलाई कुलमानले यसबारे ब्रिफिङ गरे। तर, घिसिङले बालेनसँग भेट भएको कुरा भोलिपल्ट आइतबार बेलुका मात्र सार्वजनिक गरे। फागुन २१ गते हुने चुनावी प्रयोजनका लागि दल दर्ता गर्ने अन्तिम समय आइतबार बेलुकी ५ बजेसम्म थियो। राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर जाने विषयमा निर्णायक छलफल गर्ने भन्दै उनेपाका नेताहरू निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग गएका थिएनन्। आइतबार रास्वपासँग छलफल गरेर टुंगो लगाएपछि मात्र जाने उनीहरूको योजना थियो। त्यसैले उनीहरूले एउटै दल बनाउने, रास्वपाकै चुनाव चिह्न राख्ने तर नाम र सांगठनिक संरचनाबारे छलफल गरेर टुंगो लगाउन सकिने प्रस्ताव पठाए। उनेपाका नेताहरूले रास्वपालाई एउटै दल बनाउन हदैसम्मको लचक हुन सकिने सन्देश पनि पठाए। आइतबार अपराह्नसम्म सहमति गर्ने प्रतीक्षामा उनीहरू थिए। तर, रास्वपासँगको संवाद अघि बढेन। त्यसपछि, उनेपाले निर्वाचन प्रयोजनको लागि आयोग पुगेर दल दर्ताको निवेदन दियो।
निकटस्थहरूका अनुसार एक महिनायता मेयर बालेन्द्र शाह र मन्त्री कुलमानबीच पटकपटक भेटवार्ता भएका छन्। टेलिफोनमा पनि बाक्लै संवाद भइरहेको छ। हुन त नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदादेखि नै कुलमान र मेयर बालेनबीच भेटघाट हुन थालेको हो। कार्यकारी निर्देशकबाट हटाइएपछि राजनीतिक मञ्चमा आउने तयारीमा रहेका कुलमानले बालेनसँग भेटेर यसबारे छलफल थालेका थिए। जेनजी आन्दोलनपछि मन्त्री बनेर आक्रामक काम गर्न थालेपछि बालेन्द्र र कुलमानको छलफल बाक्लिएको निकटहरू बताउँछन्। तर, त्यसअघिका भेटवार्ताका कुनै तस्बिर पनि कुलमानले बाहिर ल्याउन चाहेनन्। चुनावी प्रयोजनका लागि दल दर्ता गर्नुअघि बालेन्द्रसँगको भेटले कुलमान हौसिएका छन्। उनेपामा कुलमानका विश्वासपात्र मध्येका एक गणेश घिसिङका अनुसार मेयर बालेन्द्रले साथ दिने विश्वास दिलाएका छन्। नयाँ राजनीतिक शक्तिहरू एकैठाउँमा आउन सके मात्र वैकल्पिक धार बलियो हुने भन्दै बालेन्द्रले रास्वपालाई पनि मिलाउनुपर्ने बताए। यही कुरा कुलमानले उनेपाका नेतासँगको ब्रिफिङमा भने। बालेनले पटकपटकको भेटमा कुलमानलाई प्रधानमन्त्री घोषणा गरेर जान तयार रहेको, आफ्नो र टिमको साथ र समर्थन रहेको बताउँदै आएका थिए। आफ्ना विश्वासिला कुमार बेन र अन्य केहीलाई बालेन्द्रले रास्वपा र कुलमान मिलाउन खटाएका थिए। उनीहरूले रास्वपा सभापति रवि लामिछाने कारागारमा रहेकोले कुलमानलाई सभापति बनाएर जाने प्रस्ताव पनि लगे। तर, यसलाई रविले अस्वीकार गरेपछि कुलमानले अनुपकुमार उपाध्यायको अध्यक्षतामा उनेपा गठन गरेका हुन्। शनिबारको भेटमा बालेनले खुलेर सहयोग गर्ने वचन दिएपछि कुलमानले उनेपाका नेताहरूलाई दल दर्ता गर्न भनेका हुन्। रास्वपा आए पनि, नआए पनि सहयोग गर्ने बालेन्द्रको त्यही वचनपछि कुलमान उत्साहित भएको सो दलका नेताहरूको भनाइ छ। उनेपाका नेता जीतराम वाइबाले पनि बालेनसँगको भेटपछि मिलेर जाने निश्चित भएको बताए।
संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण कसुरमा एक वर्षदेखि रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारमा छन्। यता कुलमान घिसिङलाई भित्र्याउन रास्वपाका नेताहरूले कम्तीमा दुई महिनादेखि निरन्तर प्रयास गरिरहेका छन्। संवादका लागि रास्वपाले कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाललाई जिम्मेवारी दियो। उनीहरूले कुलमान घिसिङ, गणेश घिसिङ, राजु थापा, तारा जोशी लगायतका नेतासँग वार्ता पनि गरे। तर, निष्कर्ष निस्किएन। यसपछि रविले आफैँसँग वार्ता गर्न नख्खु कारागार आउनुपर्ने सन्देश कुलमानलाई पठाएका थिए। अब एकपटक रविसँग निर्णायक वार्ता गर्ने कुलमानको भनाइ छ। रास्वपासँग सोमबार १२ बजे वार्तामा बस्ने तय भए पनि रोकिएको छ। बागमती प्रदेश कमिटी बनाइसकेको उनेपाले कुलमानको प्रमुख आतिथ्यमा बुधबार काठमाडौँमा दल घोषणा गर्दैछ। तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान कहिले अनुगमनमा पूर्व पुग्छन्, कहिले सडकको प्रगति विवरण बुझ्न पश्चिम निस्किन्छन्। काम अलपत्र छोड्ने ठेकेदारमाथि उनले कारबाही अभियान चलाएका छन्। सय बढी ठेक्का तोड्ने निर्णय गराइसकेका छन्। मन्त्रालयको कामले भ्याइनभ्याइ भएका उनको व्यस्तता दल दर्ता गरेपछि झन् बढेको छ।
पार्टीको कामबारे उनले प्रत्येक दिन बेलुका ९ बजेपछि नेताहरूसँग ब्रिफिङ लिने गरेका छन्। एकाधबाहेक पार्टीको छलफल सधैँ बेलुका हुने गरेको निकटस्थहरू बताउँछन्।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल