Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। सामाजिक सञ्जालमा अहिले नक्कली बालेनको चर्चा चुलिएको छ । आखिर के को त यो नकक्ली बालेन काण्ड ? सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको हुलियामा देखिएका एक व्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । १३ माघमा कैलाली पुगेका शाहले अहिलेसम्म कतै सार्वजनिक रुपमा कुराकानी गरेका छैनन् । उनी रास्वपाका नेता, कार्यकर्ता र समर्थकलाई प्राय गाडीभित्रैबाट हात हल्लाएर एकपछि अर्को ठाउँ पुगिरहेका छन् । शाहले तीन दिनमा सुदूरपश्चिमका सबै जिल्लाका मुख्य मुख्य ठाउँको घुमघाम र भेटघाट सकेका छैन । शाह डोटीमा रहेका बेला बिहीबार सामाजिक सञ्जालमा बालेनको हुलियामा देखिएका एक व्यक्तिले उनकै शैलीमा कारको रुफटपबाट आधा शरीर निकालेर घण्टी बजाउँदै हात हल्लाएको भिडियो सार्वजनिक भयो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त भिडियोमा देखिएका व्यक्तिलाई डमी बालेनको संज्ञा दिइरहेका छन् । उक्त भिडियो पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्की बजारको भएको खुलेको छ । गाडीबाट बालेनकै हुलियामा देखिएर हात हल्लाउने व्यक्ति टीकापुरका स्थानीय गोपाल कोइराला भएको खुलेको छ । अनुहारमा बालेनकै जस्तो दारी, कालो टोपी, चस्मा र शरीरमा कालै लुगा लगाएका उनलाई धेरैले बालेन सम्झिए । तर उनी पुग्नुभन्दा केही मिनेट अघि मात्र प्रहरीको स्कटिङसहित बालेन लम्की बजारबाट अघि बढिसकेका थिए । बालेन केही सेकेन्ड त्यहाँ रोकिए । त्यसपछि उनकै हुलियाका व्यक्ति गाडीबाट हात हल्लाउन थालेको देखिएपछि अलमलमा परेका थिए । डेढ महिनाअघि मात्र अनलाइनबाट रास्वपाको सदस्यता लिएको बताउने कोइराला आफू बालेनको समर्थक भएकाले विगतदेखि उनको जस्तै भेषभूषामा देखिँदै आएको दाबी गरेका छन् । कोइरालाले बालेन आउने भएपछि उनको स्वागत र भेटघाटका लागि उस्तै हुलियामा लम्की पुगेको तर आफूले बालेनलाई भेट्न नपाएको दाबी गरेका छन् । आफू पुग्नुभन्दा अगाडि नै बालेन हिँडिसकेको दाबी गर्दै उनले भेटघाट गर्न नपाएको बताए । कोइरालाको यो भिडियो आएपछि शाहले सुदूरपश्चिमका पहाडी जिल्लामा समेत डमी बालेन हिँडाएको आशंका गरिन थालेको छ । तर रास्वपा सुदूरपश्चिमले भने यसबारे थाहा नभएको दाबी गरेको छ । प्रदेश सभापति प्रकाश विष्टले यो विषयमा कुनै जानकारी नभएको बताएका छन् । १३ माघदेखि सुदूरपश्चिममा रहेका बालेन भने शुक्रबार अछाम पुगेका छन् । ठाउँ ठाउँमा रास्वपाका कार्यकर्ता र समर्थकलाई भेटघाट गरेर हिँड्ने बाहेक उनले कतैपनि सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छैनन् ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल