Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोभिड आइसियुमा खटिएका चिकित्सकमाथि शिक्षण अस्पतालमा आक्रमण

काठमाडौं । त्रिवि शिक्षण अस्पतालको कोभिड आइसियुमा कार्यरत चिकित्सकमाथि बिरामीका आफन्तले आक्रमण गरेका छन् । निमोनियाको उपचारका लागि बुटवलबाट ल्याइएका ६२ वर्षे बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि कुटपीट गरेका हुन् ।
चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत आइसियु विषयमा डिएमका आवासीय चिकित्सक डा। सविन भण्डारीमाथि आफन्तले गालीगलौजगर्दै लात्ताले हानेका थिए । यसअघि सोमबार र केही दिनअघिसमेत अस्पतालको आइसियुमा उपचाररत चिकित्सकमाथि आक्रमण भएको थियो ।
दैनिकजसो चिकित्सकमाथि आक्रमण र असुरक्षा बढेको भन्दै अस्पतालमा कार्यरत आवासिय चिकित्सकहरुले कार्यकारी निर्देशकको कोठा जम्मा भएर काम गर्न नसक्ने जानकारी गराएका छन् । दोसीलाई तत्काल पक्राउ गरेर कारवाही नथाले सम्पूर्ण आवासिय चिकित्सकले काम छाड्ने जानकारी निर्देशकसमक्ष गराएको आइसियुमा कार्यरत चिकित्सक डा. सचित शर्माले जानकारी दिए ।
आक्रमणमा परेका चिकित्सक भण्डारीका अनुसार ती बिरामी एक साताअघि बुटवलबाट अत्यन्तै जटिल अवस्थामा अस्पताल ल्याइएको थियो । अस्पताल ल्याइपुर्याउँदा शरीरमा अक्सिजनको मात्रा अत्यान्तै कम भइसकेको र एक्युट रेस्पेरेटोरी डिजिज डिन्ड्रम (एआरडिएस) भइसकेको थियो । चिकित्सकहरुले इक्युभेट गरेर भेन्टिलेटरमा राखेका थिए ।
सुरुमा सेन्ट्रल आइसियुमा उपचार भइरहेका उनमा कोरोना पोजेटिभ देखिएपछि सोमबारमात्रै कोभिड आइसियुमा राखिएको थियो । ती बिरामीको निधनसँगै आक्रोशित आफन्तले हुलदंगा गर्दै भण्डारीमाथि आक्रमण गरेका थिए । अहिले अस्पतालमा ठूलो संख्यामा प्रहरी पुगेको छ । आवसिय चिकित्सकहरु काम छाडेर सुरक्षाको माग गर्दै निर्देशकको कोठामा पुगेका छन् ।