Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाको उद्गमस्थलबाटै शुरु भयो आन्तरिक हवाई उडान

एजेन्सी । कोरोना भाइरसको उद्गमस्थलमा अवस्था सहज भएको छ । महामारीको केन्द्रका रुपमा चिनिएको चीनको उहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरु शुरु भएका छन् । उहानमा गत वर्षको डिसेम्बर अन्त्यमा कोरोना भाइरस संक्रमित पहिलो व्यक्ति भेटिएका थिए । त्यसपछि उक्त शहरलाई झण्डै ७६ दिन पूर्ण लकडाउनमा राखिएको थियो । शहरमा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा फैलिइसकेको भन्दै सरकारले रातारात अस्पतालहरु पनि निर्माण गर्नु परेको थियो ।
गत अप्रिल महिनाको शुरुमा आंशिक खुला भएको उहानमा जनजीवन विस्तारै खुकुलो हुँदै गएको छ । आन्तरिक उडान नियमित हुन थालेपछि विभिन्न कम्पनीले सेवा सुरू गरेका छन् । उहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले शुक्रबार एकै दिन ५०० वटा आन्तरिक उडानबाट ६४ हजार ७०० यात्रुले सेवा लिएको जानकारी दिए ।
यस विमानस्थलबाट चाँडै नै सियोल, सिंगापुर, क्वालालम्पुर र जकार्ताको उडान शुरु गर्न लागिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले विमानस्थलका एक अधिकारी झु झियानीको भनाई उद्धृत गर्दै जनाएको छ । अन्तर्राष्ट्रिय कार्गो सेवा भने देशका प्रमुख औद्योगिक शहरसहित नयाँ दिल्ली लगायतका गन्तव्यमा शुरु भइसकेका छन् । चीनमा झण्डै एक महिनाभित्र स्थानीय रुपमा संक्रमणका कुनै पनि बिरामी भेटिएका छैनन् ।
आइतबार भेटिएका १० जना संक्रमितहरु अन्यत्रबाट आएका व्यक्ति रहेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । चिनियाँ अस्पतालमा हाल १५१ जनाको उपचार भइरहेको र ३५७ जनालाई आइसोलेसनमा राखिएको छ । चीनमा संक्रमित भएका ८५ हजार १८४ जनामध्ये चार हजार ६३४ जनाको मृत्यु भएको थियो ।