Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना मृत्युमा नयाँ रेकर्ड, एकैदिन १२ हजार बढीले ज्यान गुमाए

एजेन्सी । कोरोना विरुद्धको भ्याक्सिनले मान्याता पाएकै बेला कोरोना संक्रमितको मृत्युले नयाँ रेकर्ड बनाएको छ । दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको हो । पछिल्लो २४ घण्टामा १२ हजार ३०९ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि ११ मंसिरमा एकैदिन १२ हजार संक्रमितको मृत्यु भएको थियो । चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ ।

विश्वभर १४ लाख ९८ हजार २९६ जनाको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ३२८ जनाको मृत्यु भएको छ । युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ६४८ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५९ हजार ६९९ पुगेको छ । जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ ।

युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ५७ हजार ४५ जनाको मृत्यु भएको छ । यस्तै फ्रान्समा पनि ५३ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।

संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्। संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ४ लाख १५ हजार ९०४ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ३ हजार ८०६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा २ लाख ७९ हजार ८४५ जनाको मृत्यु भएको छ । संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वमै पनि सबैभन्दा धेरै हो ।यस्तै मेक्सिकोमा १ लाख ६ हजार ७६५ जनाको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै चौथो स्थानमा छ ।

यस्तै एसियाली मुलुकमा २ लाख ९५ हजार १५० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६७२ जनाको मृत्यु भएको छ । एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ३८ हजार ६५७ जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।

यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख २७ हजार ९०० संक्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ७४ हजार ५३१ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा संक्रमणले मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा अफ्रिकी महादेशमा ३२९ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा दक्षिण अफ्रिका संक्रमणको सबैभन्दा धेरै चपेटामा परेको छ । त्यहाँ यो समाचार तयार पार्दा २१ हजार ७०९ संक्रमितको मृत्यु भएको छ । यस्तै ओसियानामा १ हजार १९ संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय संक्रमितको संख्या १ करोड ८३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख २७ हजार ९७० जनामा संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८३ लाख ९७ हजार २३० पुगेको छ । यसमध्ये १ लाख ६ हजार ४५७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ६ करोड ४८ लाख १६ हजार ७४८ पुगेको छ । त्यसमध्ये ४ करोड ४९ लाख २१ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।


सम्बन्धित समाचार