Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना संक्रमण घट्यो, ७० जनामा संक्रमण, तीन जनाको निधन

काठमाडौं । पछिल्ला दिनमा कोरोना संक्रमित घट्दै गएका छन् भने निको भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । बितेको २४ घण्टामा थप ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या १६ हजार ७१९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । शनिबार थपिएका संक्रमितमध्ये काठमाडौंका ३ जना रहेका छन् । यसैगरी धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला गरी ६ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त रहेको पनि गौतमले जानकारी दिए । गौतमका अनुसार बितेको २४ घण्टामा थप ४३१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कूल संख्या ८ हजार ४४२ पुगेको हो । गौतमले कोरोना संक्रमित मध्ये निको हुनेको संख्या ८ हजार ४४२ पुगेको बताए । उनले प्रतिशतका आधारमा संक्रमितमध्ये ५०।५ व्यक्ति निको भएपनि बताए ।
यसैगरी, कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये २ जना काठमाडौं र १ जना सिन्धुपाल्चोकका रहेका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो । फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाव संकलन गरी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । मृगौलाका बिरामी ती पुरुषको २५ गते निधन भएको हो । असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए । २१ गते स्वावको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ पुरुषको पनि २५ गते नै निधन भएको छ । असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका उनीमा २२ गते कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।