Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

को हुन् ‘पशुपति प्रसाद’का ‘भष्मे’ ?

२०७२ माघ २१ गते सिटी सेन्टरबाट फिल्म सकेर राति अन्दाजी १० बजे निस्कँदै गर्दा पशुपति लाई ‘चोर’ को बात लगाउने ती सुन पसलेलाई मनमनै खुब सरापेँ । खुबै भोक लागेको थियो । वरपरका सबै पसल बन्द थिए । एक मित्रका साथमा चाउचाउ खानका लागि पसल खोज्दै घट्टेकुलोतिर लागियो । चारखाल चोक नपुग्दै परबाट एउटा ठेलामा मधुरो बत्ती देखियो । दुई भाइ दगुर्दै ठेला अगाडि पुग्यौँ । ‘ठेले दाजुु’ मःम बसालेको स्टोभलाई दम दिँदै थिए । ‘दाइ, चार प्लेट मःम’, मैले सास रोक्दै भनेँ । ‘यता बस्नुस् न’ भन्दै दाजुले मुढा तेस्र्याए । म मुखभरि पानी निकाल्दै थुचुक्क बसेँ । साथी पनि बस्यो । ठेले दाजु झन् जोर–जोरले स्टोभ ठेल्न व्यस्त भए । म आफ्नो मनसँग कुरा गर्न थालेँ, ‘पशुपति नमरेको भए उसको पनि यस्तै ठेला हुन्थ्यो होला । त्यति राम्री प्रेमिका थिई, आमाको ठाउँमा बूढी आमा थिइन् । बाउको ठाउँमा ‘मित बा’ थिए ।’
ठेले दाजुले ‘ल भाइ मःम’ भने पछि होसमा आएँ । तातोले मुख खुइल्याउँदै कपाकप मीठो मःम खाएँ । ठीक त्यसै बेला सम्झिएँ– ‘भष्मे को हो ? के ऊ भीमबहादुर हो ? कि भष्मबहादुर हो ? कहाँ उसको घर ? के हो उसको थर ? ऊ कसरी त्यस्तो भयो ? अब के गर्छ उसले ? कहाँ जान्छ ऊ ? मःमका २० डल्ला सकिँदासम्म मैले पशुपति जो मेरै जिल्लाको, मै जस्तो, भूकम्पपीडित थियो र फिलिमको हिरो थियो, उसलाई बिर्सिएँ । भष्मेको त कोही छैन । पातलो छ । तालु छ । त्यसले त कोही केटी पनि पाउँदैन होला ! कोठासम्म पुग्दा भष्मे भन्ने पात्रलाई लिएर खगेन्द्र दाइले पक्का अर्को चलचित्र बनाउँछन् भन्ने निष्कर्षमा पुगेँ । उनले बनाएनन् भने कुनै दिन म दाजुलाइ भेटेरै सोध्छु कि ‘भष्मे को हो ? र ऊ कहाँबाट आयो ?’
पेटमा भात नपसेको र दिमागबाट भष्मे नहटेकाले म निदाउन सकिनँ । म अति थोरै मात्र नेपाली फिलिम हेरेको मान्छे । भष्मे जस्तो चरित्र नदेखेको मान्छे । भष्मे नेपाली फिलिम जगत्कै आइकोनिक खलपात्र । मलाई हलिउडको अर्का आइकोनिक खलपात्र जोकरको भाइ जस्तो लग्यो । उसको पनि कोही थिएन र यसको पनि कोही थिएन । ‘ द डार्क नाइट’ हेरिसकेपछि पनि म हिरो व्याटम्यानको भन्दा गुन्डा जोकरको प्रशंसक भएको थिएँ । हो, त्यस्तै भएको थियो, त्यस दिन पनि ।
केही महिनापछि जानकारी पाएँ कि खगेन्द्र लामिछाने र दीपेन्द्र के. खनालले नयाँ फिलिम बनाउँदै छन् । खुब खुसी भएँ । यो सोचेर कि त्यो फिलिमले पक्का भष्मे ‘कसरी भष्मे भयो’ भन्ने कथा बोल्छ । तर फिलिमको नाम सुनेर र ट्रेलर हेरेर म निराश भएँ । ‘पशुपति प्रसाद’ हेर्नुअगाडि मैले हेरेका नेपाली फिलिम ‘कबड्डी कबड्डी’ र पछाडि ‘कालो पोथी’ मात्र हुन् ।
सन् २०१७ ताका हलिउडमा ‘जोकर’ नामको फिलिम बन्ने भन्ने हल्ला चल्यो । म खुब खुसी भएँ । त्यस बेला पनि यो कुराचाहिँ खड्की रह्यो कि ‘भष्मे’ नामको चलचित्र नेपालमा कहिले बन्छ ? केही दिनअगाडि ‘जोकर’ फिलिमको पहिलो ट्रेलर हेरेँ । हेरेको हेरेकै भएँ । साधारण हास्यव्यङ्ग्य गर्ने सर्कसको जोकर कसरी त्यस्तो भयानक गुन्डा बन्छ भन्ने कथा बोल्ने उक्त चलचित्रको पहिलो शो नै हेर्ने सोचमा छ ।
मलाई लाग्छ, भष्मे त्यत्तिकै त्यस्तो बनेन । यसको पछाडि पनि थुप्रै कारणहरू होलान् । हलिउडले उनीहरूको सबैभन्दा मन पर्ने खलनायकलाई आजसम्म जिउँदो राखेका छन् । के हामीले त्यस्तो गर्न हुँदैन ? हाम्रै माटोको सुगन्ध बोकेको भष्मेलाई जम्मा एउटै चलचित्रमा मात्र छोडिदिने ? त्यो पनि जिउँदो । अनि उसलाई जिउँदै मारिदिने ? के यो म जस्ता भष्मे चरित्रको प्रशंसकमाथि अन्याय भएन ?
हाम्रो जस्तो अति न्यून दर्शक पाउने चलचित्र जगत्ले कहिले सोच्ने ‘कि चलचित्रमा बलिया चरित्रहरूको खाँचो छ ?’ हामी चुटुक्क अनुहार परेकालाई रातारात हिरो अथवा हिरोइन बनाउँछौँ । तर बलियो चरित्र चित्रण गर्नतर्फ ध्यान दिँदैनौँ । अहिलेको समयमा ‘न पैसा बाधक, न प्रविधि नै ।’ यति हुँदाहुँदै पनि खालि मुस्ताङमा नौ रङ्गी लुगा लगाएको हिरोलाई सेता तिघ्रा देखाउने हिरोइनको पछाडि कुदाइ मात्र रहने ? होलान्, त्यस प्रकारका फिलिमका पनि आफ्नै दर्शक वर्ग होलान् । तर म सानो हुँदा ‘लाहुरे’, ‘देउता’, ‘सीमारेखा’ जस्ता फिलिम हेरेको मान्छेले मेरा सन्ततिलाई कुन फिलिम देखाउने ? यो प्रश्नको जवाफ मलाई कसले दिने ?
भष्मे एउटा प्रतिनिधि चरित्र मात्र हो । नेपाली चलचित्रमा थुप्रै कमीकमजोरी छन् । त्यस्ता कमजोरीहरूको भीडमा बलियो चरित्रचित्रण गर्न नसक्नु सबैभन्दा प्रमुख कमजोरी हो भन्ने मलाई लाग्छ । भष्मे जस्तो चरित्र निर्माण गर्न म जान्दिनँ, खगेन्द्र लामिछाने दाइलाई कति समय लाग्यो । दीपेन्द्र के. खनाल दाइलाई कालो अक्षरमा सेता पानामा पोखिएको भष्मेलाई रङ्गीन पर्दासम्म पु¥याउन कति कठिन भयो र विपीन कार्कीलाई आफूलाइ भष्मेको चरित्रभित्र छिर्न कति गह्रो भयो । तर यो बुझ्दछु कि फिलिम लेख्नु तपस्या हो र बनाउनु साधना हो । भष्मे त्यस्तै तपस्या र साधनाको फल हो । त्यसैले भष्मे मलाई त्यति प्यारो छ । मलाई ऊ कसरी त्यस्तो भयो, यसको जवाफ कसले दिने ? – प्रदीप सुवेदी