Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

को हुन् सभामुख देवराज घिमिरे

काठमाडौं । लामो समय चर्चामा रहेका प्रतिस्पर्धीलाई पन्छाउँदै प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन्। सत्तागठबन्धन दलका तर्फबाट सभामुखमा प्रतिस्पर्धा गरेका नेकपा एमालेका सांसद घिमिरे सभामुखमा निर्वाचित भएका हुन्। घिमिरेले १६७ मत पाउँदा विपक्षमा १०० मत परेको छ।प्रतिनिधिसभाको आजको बैठकमा २६८ सांसद उपस्थित थिए। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्तावमा सभामुखका लागि उम्मेदवारी दिएका घिमिरेलाई माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र उप्रधानमन्त्री एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्गदेन समर्थन गरेका थिए। घिमिरेलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमतबाहेक जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदले मत दिएका छन्। यस्तै विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी न्यौपानेको प्रस्तावक कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्मा रहेका थिए भने नेकपा एकीकृत समाजवादी का सांसद प्रकाश ज्वालाले समर्थन गरेका थिए। कांग्रेस उम्मेदवार न्यौपानेलाई एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो।
ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका वडा नं ३ मा बुबा पदम प्रसाद घिमिरे र आमा भिमकुमारी घिमिरेको कोखबाट १२ जना छोराछोरीमध्ये माइलो छोराको रुपमा वि।सं। २०१३ साल जेठ १३ गते देवराज घिमिरेको जन्म भएको थियो। निम्न मध्मम परिवारमा जन्मिएका घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवात गरी ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाइ स्कुलबाट विसं २०२९ सालमा एस।एल।सी उत्तीर्ण गरेका हुन्। उनले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आई।ए। र त्रिचन्द्र क्याम्पस काठमाडौंमा स्नातक अध्ययन गरेका छन्। विसं २०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा आएका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके) गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिए। २०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ–गाउँ पुगेर पार्टीको संगठन निर्माणमा खटिएका घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरे।