Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

को हुन् ०४७ को संविधान र राजतन्त्र ब्यूताउने भारतका पूर्व सचिव

काठमाडौं । नेपालका राजतन्त्रवादीहरु सल्बलाईरहेको र राजनीतिक अस्थिरता बढेको बेला भारतका पूर्व अतिरिक्त सचिव एस रमेशले भारत आफ्नो पूर्व डक्ट्रिनमा फर्कदै नेपालमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र र २०४७ सालको संविधान पुनर्स्थापनामा लाग्नुपर्ने सुझाव दिएका छन् । नेपालमा चीनको प्रभावलाई ‘चेक’ गर्न प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुभन्दा अब भारत नयाँ विकल्पको खोजी गर्नुपर्ने उनको भनाइ छ । यसका लागि उनले अफगानिस्तानका राजा जाहिर शाह र कम्बोडियाका नोरोडोम सिंहानुकको उदाहरणसमेत दिएका छन् । टेलिग्राफ इन्डिया डटकममा प्रकाशित लेखमा उनले यसका लागि नेपालको राजपरिवारबाट भारत कोमाथि भर पर्न सक्छ भन्ने प्रमुख प्रश्न रहेको जिकिर गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र नागरिकका रुपमा जीवन बिताइरहेको र पूर्वयुवराज पारसलाई जनताले राजा स्वीकार गर्न नसक्ने उनले उल्लेख गरेका छन् । यसअघि, गिरिजाप्रसाद कोइरालाले ‘बेबी किङ’ का रुपमा अघि सारेका हृदयेन्द्र उपयुक्त पात्र हुनसक्ने उनको ठम्याइ छ । हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने उनको बुझाइ छ । नेपालमा पछिल्लो समय राजतन्त्र पुनर्स्थापनाको मागसहितको आन्दोलन देखिन थालेको बताउँदै नेपालभित्रबाट उठेको मागलाई भारतले यसलाई रोक्न नहुने उनले बताएका छन् । त्यस्तै, नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङको आक्रामक कदम र कम्युनिस्ट सिद्धान्तको फैलावटलाई रोक्न धार्मिक कार्ड पनि अस्त्र हुनसक्ने उनले बताएका छन् । यसका लागि नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व लिनुपर्ने उनको भनाइ छ ।
कुनै बेला चीन पनि राजदरवार निकट रहेको तथ्य औँल्याउँदै उनले नेकपाको पछिल्लो कलहपछि चीनले नेपालको मुडलाई अध्ययन गरिरहेको हुनसक्ने उनले बताएका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई सत्ता छाड्न लगाउन करण सिंह नेपाल पुगेको स्मरण गर्दै उनले सिंहलाई पुनः काठमाडौँ पठाउनुपर्ने बेला आएको उनको भनाइ छ ।