Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गगनलाई सभापति मान्दै शेखर, शशांक र धनराजसहित देउवा समूहबाट अलग

काठमाडौं— नेपाली कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतले अन्तिम फैसला दिएपछि तत्कालीन सभापति शेरबहादुर देउवा समूहबाट अलग हुने क्रम सुरु भएको छ।

कांग्रेसभित्र मध्यमार्गी धारका रूपमा चिनिने कोइराला परिवारका नेताहरूले देउवा समूह छाडेका हुन्। आइतबार दिउँसो धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा भएको देउवा समूहको बैठकमा उनीहरू सहभागी भएनन्।

आइतबार बिहान विशालनगरस्थित डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा भएको छुट्टै भेलापछि यी मध्यमार्गी नेताहरूले गगन थापालाई सभापति स्वीकार गर्दै एउटै धारमा मिसिने निर्णय गरेका हुन्।

भेलामा डा. शेखर कोइराला, डा. शशांक कोइराला र पूर्वउपसभापति धनराज गुरुङ सहभागी थिए।

नेता गुरुङका अनुसार उक्त भेलाले सर्वोच्च अदालतको फैसला स्वीकार्दै अघि बढ्ने निष्कर्ष निकालेको छ। “हामी पार्टी फुट र थप क्षयीकरणको पक्षमा छैनौं,” उनले भने, “अहिले पनि एकताको पक्षमा रहेका नेताहरूसँग छलफल जारी छ। कांग्रेसलाई एक बनाएर लैजानुपर्ने विषयमा हामीबीच सहमति छ।”

धनराज गुरुङकै पहलमा भएको उक्त भेलामा तीन शीर्ष नेतासहित अन्य केन्द्रीय सदस्य र सांसदहरू पनि सहभागी भएको बताइएको छ। लामो समयदेखि अलग-अलग धारमा रहेका शेखर र शशांकलाई एकै ठाउँमा ल्याउने काम पनि गुरुङले नै गरेका हुन्।

गुरुङले पार्टीभित्र विशेष महाधिवेशनबारे विभिन्न मत भए पनि सहमति जुटाउने प्रयास हुँदै आएको उल्लेख गरे। “अब सर्वोच्च अदालतको फैसला आइसकेपछि नयाँ परिस्थिति सिर्जना भएको छ,” उनले भने, “यस अवस्थामा अदालतको निर्णय स्वीकार्दै पार्टीलाई थप एकताबद्ध बनाउनु हाम्रो दायित्व हो।”

उनले कांग्रेसले स्थापना कालदेखि नै स्वतन्त्र न्यायपालिकाप्रति विश्वास र सम्मान राख्दै आएको उल्लेख गर्दै अब आफूहरू पार्टी एकताको पक्षमा उभिने स्पष्ट पारे।