Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गगन थापाको नेतृत्वमा कांग्रेसको उम्मेदवार छनोट प्रणाली फेरिँदै

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोट गर्न पार्टीभित्र प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) को अभ्यास सुरु गर्ने भएको छ । पार्टी सदस्यको प्रत्यक्ष मतदान, सार्वजनिक मतसर्वेक्षण र प्राथमिक निर्वाचन विधिलाई समेटेर उम्मेदवार छनोटको नयाँ मापदण्ड बनाउन लागिएको हो ।

निर्वाचनपूर्व गठबन्धन नगरी आफ्नै चुनाव चिह्न, आफ्नै उम्मेदवार र आफ्नै कार्यक्रमसहित जनतामाझ जाने नीति लिएको कांग्रेसले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउने तयारी गरेको छ । सभापति गगन थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेलका अनुसार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट प्राथमिक निर्वाचनमा उम्मेदवार छनोटसम्बन्धी मापदण्ड तय हुनेछ ।

पौडेलले पार्टीका करिब आठ लाख सदस्य डिजिटल प्रणालीमा आबद्ध भइसकेकाले उम्मेदवार छनोटमा प्रविधिको प्रयोग गर्न सकिने बताए । ‘त्यो मापदण्डमा प्राइमरी इलेक्सन कस्तो हुने भन्ने तय हुन्छ । आठ लाख सदस्य डिजिटल प्रणालीमा आबद्ध हुनुभएको छ । डिजिटल माध्यमबाट पार्टी सदस्यको राय लिन कांग्रेसलाई समस्या छैन,’ उनले भने ।

उनका अनुसार कांग्रेससँग एनसी आईडी प्राप्त गरेका सदस्यहरूको विवरणसमेत रहेकाले आवश्यकताअनुसार डिजिटल माध्यमबाट सदस्यको मत र राय संकलन गर्ने तयारी छ ।

सभापति थापाले पार्टीको संगठन, उम्मेदवार छनोट, नेतृत्व विकास, आन्तरिक लोकतन्त्र र जनतासँगको सम्बन्धमा सुधार गर्ने खाका तयार पारेको पौडेलको भनाइ छ । उनका अनुसार अब उम्मेदवार छनोट गर्दा गुट, पहुँच, संरक्षण वा आर्थिक प्रभावभन्दा योग्यता, योगदान, नैतिक आचरण र कार्यसम्पादनलाई प्राथमिकता दिइनेछ ।

क्रियाशील सदस्यको मतबाट तीन उम्मेदवार छनोट

कांग्रेसको विधानमा सम्बन्धित तह र क्षेत्रका क्रियाशील सदस्यको प्रत्यक्ष मतदानबाट बढी मत प्राप्त गर्ने एक महिलासहित तीन जनाको नाम छनोट गर्ने व्यवस्था रहेको उल्लेख छ । ती तीन जनामध्ये सम्बन्धित तहको अधिकारप्राप्त कार्यसमितिले एक जनालाई उम्मेदवार चयन गर्ने व्यवस्था प्रस्तावित प्रक्रियाको आधार बन्नेछ ।

पौडेलका अनुसार स्थानीय तहका उम्मेदवार छनोट गर्दा सम्बन्धित तहका क्रियाशील सदस्यको मतदानबाट एक महिलासहित तीन जनाको नाम छनोट गरी सम्बन्धित कार्यसमितिमा पठाइनेछ । उदाहरणका लागि, प्राथमिक निर्वाचनबाट छनोट भएका वडाध्यक्षका उम्मेदवारको नाम सम्बन्धित वडा कार्यसमितिले आफ्नो रायसहित माथिल्लो तहमा सिफारिस गर्नेछ ।

‘कुन तहको टिकट कुन कार्यसमितिले टुंग्याउने भन्ने मापदण्डले तय गर्छ,’ पौडेलले भने ।

विगतमा कांग्रेसले महानगरपालिकाका उम्मेदवार केन्द्रीय कार्यसमिति, उपमहानगरपालिका र नगरपालिकाका उम्मेदवार प्रदेश कार्यसमिति, गाउँपालिकाका उम्मेदवार जिल्ला कार्यसमिति तथा वडाका उम्मेदवार क्षेत्रीय कार्यसमितिबाट छनोट गर्ने अभ्यास गर्दै आएको थियो । नयाँ व्यवस्थामा कुन तहको उम्मेदवारलाई कुन समितिले अन्तिम रूप दिने भन्ने विषयमा हेरफेर हुन सक्ने पौडेलले बताए ।

महिला सहभागितालाई पनि प्राथमिकता

प्राथमिक निर्वाचनमा महिला सहभागितालाई सुनिश्चित गर्ने विषयलाई पनि प्रस्तावित प्रक्रियामा समेटिएको छ । क्रियाशील सदस्यको मतदानमा महिलाले सबैभन्दा बढी मत प्राप्त गरेमा बढी मत ल्याउने तीनै महिलाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको विवरणमा उल्लेख छ ।

यदि बढी मत प्राप्त गर्ने तीनै जना पुरुष भएमा दुई पुरुष र महिलातर्फ सबैभन्दा बढी मत प्राप्त गर्ने एक जनाको नाम सिफारिस गरिनेछ । यसरी छनोट भएका तीन जनामध्ये अन्तिम उम्मेदवार भने निर्णय गर्ने अधिकारप्राप्त पार्टी समितिले चयन गर्नेछ ।

उम्मेदवार छनोट गर्ने कार्यसमितिले प्राथमिक निर्वाचनको नतिजासँगै लिडरसिप एकेडेमीको राय र निर्वाचन ब्युरोले तयार पारेको रणनीतिक खाकालाई समेत आधार बनाउने पौडेलले बताए ।

उनका अनुसार उम्मेदवार बन्नका लागि क्रियाशील सदस्यता लिएको निश्चित अवधि अनिवार्य गर्ने गरी अत्यन्त कसिलो मापदण्ड बनाउने पक्षमा पार्टी छैन । प्राथमिक निर्वाचनमा पार्टी सदस्यबाहेक आम नागरिकको सहभागिता कसरी गराउन सकिन्छ भन्ने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए ।

यसअघि स्थानीय, प्रदेश र संघीय निर्वाचनका लागि सम्बन्धित तह वा क्षेत्रका पार्टी कार्यसमितिले उम्मेदवारको नाम सिफारिस गरेर पठाउने व्यवस्था थियो । प्रस्तावित नयाँ अभ्यासले उम्मेदवार छनोटमा सदस्यको प्रत्यक्ष सहभागिता बढाउने कांग्रेसको तयारी छ ।

उम्मेदवार छनोटमा तीन निकायको भूमिका

कांग्रेसले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन लिडरसिप एकेडेमी, निर्वाचन ब्युरो र गभर्नेन्स इन्स्टिच्युटको भूमिका निर्धारण गर्ने भएको छ । यी तीन निकायले उम्मेदवार छनोट, नेतृत्व विकास, निर्वाचन रणनीति तथा निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनसँग सम्बन्धित विषयमा सहयोग गर्नेछन् ।

उपसभापति पुष्पा भुसाल नेतृत्वको निर्वाचन ब्युरोलाई आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि आन्तरिक विश्लेषण तथा रणनीति तयार गर्ने जिम्मेवारी दिइएको छ । ब्युरोले देशभरका ७५३ स्थानीय तह, ६ हजार ७४३ वडा र सातै प्रदेशमा निर्वाचनसम्बन्धी तथ्यांक संकलन तथा विस्तृत योजना निर्माणको काम गरिरहेको पौडेलले बताए ।

निर्वाचन ब्युरोले मतदाता र स्थानीय वस्तुस्थितिको विश्लेषण गरी उम्मेदवार छनोट प्रणालीलाई तथ्यांकमा आधारित र वैज्ञानिक बनाउन सहयोग गर्नेछ । यसबाट उम्मेदवारको सम्भावित प्रभाव, स्थानीय राजनीतिक अवस्था र निर्वाचन रणनीतिबारे निर्णय लिन पार्टीलाई सहज हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, लिडरसिप एकेडेमीले सार्वजनिक जिम्मेवारीमा जान चाहने व्यक्तिमा हुनुपर्ने न्यूनतम योग्यता, नेतृत्व क्षमता र आवश्यक सीपको आधार तय गर्नेछ । एकेडेमीले नेतृत्व विकाससम्बन्धी पाठ्यक्रमसमेत तयार गरिरहेको छ । नीति प्रतिष्ठानअन्तर्गत रहने यस एकेडेमीको नेतृत्व चयन गर्ने प्रक्रिया पनि अघि बढाइने पौडेलले जानकारी दिए ।

‘हाम्रो उम्मेदवार छनोटमा तीनवटा निकाय जोडिन्छन् । नेतृत्वका लागि हुनुपर्ने कुरामा लिडरसिप एकेडेमीले काम गर्छ । निर्वाचन रणनीतिसम्बन्धी काम निर्वाचन ब्युरोले गर्छ,’ पौडेलले भने, ‘गभर्नेन्स इन्स्टिच्युटले स्थानीय र प्रदेश सरकारमा जानुपूर्व र गइसकेपछि के गर्ने भन्ने तय गर्छ ।’

निर्वाचित जनप्रतिनिधिलाई पनि प्रशिक्षण

कांग्रेसले उम्मेदवार छनोटमा मात्रै नभई निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनमा समेत सुधार ल्याउने लक्ष्य राखेको छ । गभर्नेन्स इन्स्टिच्युटले स्थानीय तथा प्रदेश सरकारमा निर्वाचित भएर जाने पार्टीका प्रतिनिधिलाई नीति निर्माण, बजेट व्यवस्थापन र सुशासनका विषयमा सहयोग गर्ने पौडेलले बताए ।

यस व्यवस्थाले उम्मेदवार छनोटदेखि निर्वाचित भएपछि जिम्मेवारी निर्वाह गर्नेसम्मको प्रक्रियालाई एकीकृत गर्ने कांग्रेसको तयारी देखिन्छ । पार्टीले अघि सारेको प्रस्ताव कार्यान्वयनमा आएमा उम्मेदवार छनोटमा सदस्यको सहभागिता बढ्नुका साथै नेतृत्व विकास, निर्वाचन रणनीति र जनप्रतिनिधिको कार्यसम्पादनबीच समन्वय गर्ने आधार तयार हुन सक्छ ।

यद्यपि, प्राथमिक निर्वाचनको विस्तृत प्रक्रिया, डिजिटल मतदानको स्वरूप, आम नागरिकको सहभागिता र अन्तिम उम्मेदवार छनोट गर्ने समितिको अधिकारबारे अन्तिम मापदण्ड सार्वजनिक हुन बाँकी छ । कांग्रेसको केन्द्रीय कार्यसमितिबाट मापदण्ड तय भएपछि मात्रै नयाँ व्यवस्था कसरी लागू हुन्छ भन्ने स्पष्ट हुनेछ ।


सम्बन्धित समाचार