Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गच्छदारको क्षेत्रमा रोकियो मनोनयन दर्ता

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले सहमति गराउने भन्दै सुनसरी क्षेत्र नम्बर तीनको मनोनयन दर्ता नै रोकिदिएका छन् । जिल्लाका अन्य क्षेत्रमा मनोनयन सहज रूपमा भए पनि पार्टीका जिम्मेवार व्यक्तिबाटै सहमति गराउने बहानामा मनोनयन दर्ता कार्यक्रम नै रोकिएको हो ।
पार्टी उपसभापति गच्छदारले दबाब दिएपछि निर्वाचन कार्य तालिकासमेत प्रभावित भएको छ । निर्वाचन समितिले जिल्लाभर एकै समय सोमबार बिहान १० बजे मनोनयन दर्ता गर्न भनेको थियो । सोही अनुसार समयमै पुगेका नेता कार्यकर्ताहरू मनोनयनै नगरी फर्किएका छन् । सकेसम्म सहमति गर्ने चुनाव नगर्ने रटान लगाउँदै आएका गच्छदारले चुनाव गर्ने समय नै तलमाथि गरिदिएपछि कार्यकर्ता समेत निराश भएका छन् । मंगलबार बिहान १० बजे मनोनयन दर्ता गराउने भन्दै निर्वाचन समितिले सूचना टाँसेर निर्वाचन कार्य तालिका सारेको थियो । सुनसरीमा चार नम्बर क्षेत्र बाहेक अन्य तीन क्षेत्रमा संस्थापन इतर बलियो देखिँदै आएको छ । गच्छदार आफ्नो क्षेत्रमा आफूलाई प्रभावशाली भन्न रुचाउँछन् । सोही अनुसार चुनाव भए आफ्नो पक्षले हार्ने डरले पनि सहमति खोजिरहेको एक नेताले बताए । गच्छदारले सुनसरी तीनको प्रदेश निर्वाचन क्षेत्रमा सहमति गराएका थिए । सभापतिमा इतर समूहका नेतालाई समर्थन गरे पनि महाधिवेशन प्रतिनिधिमा आफ्नो पक्षमा बहुमत पुर्‍याउने उनको योजना छ । सहमति गर्ने भन्दै उनले आफू पक्षका नेता तथा कार्यकर्तालाई घरमै बोलाएर छलफल गरिरहेका छन् । उनले फोरम लोकतान्त्रिक फोरम पक्षबाट क्षेत्रीय प्रतिनिधि बनाउने योजनासमेत गरेका छन् । संस्थापन पक्ष इतरका मेहेदी हुसेनले क्षेत्रीय सभापतिको उम्मेदवारी दिने तयारी गरिरहेका छन् । आफ्नो पक्षमा सहमति भए मान्य हुने तर पार्टीप्रति बफादार नरहेको व्यक्तिलाई सहमतिको नाममा जिम्मेवार दिए आफूलाई मान्य नहुने हुसेनको भनाई छ । आम कार्यकर्ताको जनभावना बुझेर मात्रै सहमति गर्न पनि उनले आग्रह गरेका छन् । यता निर्वाचन समितिका अधिकृत वेद नारायण यादवले ३ नम्बर क्षेत्रका नेता तथा जिल्ला निर्वाचन कार्यालयको निर्णयबाट एक दिनका लागि चुनावको तालिका हेरफेर गरिएको जानकारी दिए ।