Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गठबन्धनको पक्षमा निर्णय लिँदै काँग्रेस

काठमाडौं। पार्टीभित्र चुनावी गठबन्धनको पक्ष र विपक्षमा काँग्रेसभित्र ठूलै बहस चलिरहेको छ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने आधिकारिक धारणा आज सार्वजनिक गर्ने भएको छ। गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांशले आफ्नो राय दिइसकेकाले आजको बैठकले गठबन्धनका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा गठबन्धनमा पक्षमा छन् भने १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला समूह गठबन्धन बिना नै निर्वाचनमा जानुपर्ने गरी दुई धारणा सार्वजनिक भइरहेको बेला कांग्रेसको आजको बैठकले आधिकारिक धारणा दिने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

बैठकमा गाउँ गएका नेताहरूले पार्टीको अवस्थाबारे विवरण पेश गरेका थिए। कतिपयले गठबन्धनका पक्षमा त कतिले एक्लै चुनाव जितिने विवरण बैठकमा पेश गरेका छन्। तर, अधिकांश केन्द्रीय प्रतिनिधि र केन्द्रीय सदस्यहरू गठबन्धनको पक्षमा देखिएका छन्।

मंगलबार ३ बजे बस्ने बैठकले पार्टीलाई स्थानीय चुनावमा कसरी प्रस्तुत गर्नेलगायत विषयमा निर्णय गर्ने जानकारी दिँदै पार्टी महतले भने, ‘केन्द्रीय समितिमा गठबन्धनलाई कायमै राख्ने कुरा भएको छ। तालमेल गरेर जाँदा नै पार्टीले धेरै सिट जित्ने अधिकांश साथीहरूले बताउनुभयो। एक्लै गएर परीक्षणमा राख्नुपर्छ भन्ने मत पनि आएका छन्। तर, अधिकांशहरूको मत गठबन्धन कहाँ गर्ने र कहाँ नगर्ने निक्र्योल गर्नुपर्ने सुझाव आएको छ। गठबन्धन गर्दा पार्टीको उक्त स्थानको अवस्थासमेत हेर्नुपर्ने सुझाव आएको छ। बैठकमा आएको सुझावअनुसार निर्णय लिनका लागि एउटा प्रस्ताव तयार गर्ने अनि त्यसलाई नै केन्द्रीय समिति बैठकबाट पारित गरिनेछ।’

प्रवक्ता महतले विशिष्ट परिस्थितिमा बनेको गठबन्धन भएको र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको असंवैधानिक कार्यको विरोधमा गठबन्धन भएकाले यसलाई निरन्तरता दिनुपर्ने आवाज धेरै आएको दाबी गरे।