Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गठबन्धनमा छिर्ने एमालेको प्रयास असफल, सत्ता गठबन्धनमा मिल्यो भागबण्डा

काठमाडौं। सत्ता गठबन्धनभित्र छिरेर महागठबन्धन बनाउँदै संसदमा छिर्ने प्रतिपक्षी दलको चाहना अन्ततः सत्ता गठबन्धनकै भागवण्डा मिलाउन नसक्दा तुहिएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सरकारमा सहभागी चार दलबीच सिट बाँडफाँटबारे सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी चार दलको बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी सहमती भएको बैठकमा सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी रहेका उनले बताए। यसअघि शनिबार अबेरसम्म बसेको बैठकले तयार पारेको सिट बाँडफाटको खाकामा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि आज पुनः छलफल अघि बढाइएको थियो। यसअघि एकिकृत समाजवादीले तीन सिटमा दाबी गर्दै आएको थियो। शनिबार रातिको बैठकमा राष्ट्रिय सभामा रिक्त १९ सिटका लागि गरेको सहमती अनुसार एकीकृत समाजवादी आफूले पाउने सिटप्रति असन्तुष्टी जनाएर बैठकबाट बाहिरिएको थियो। शनिबारको छलफलमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने निर्णयमा एकीकृत समाजवादीले असन्तुष्टि जनाएको थियो। कोशीमा कांग्रेसले १ र माओवादीले १, मधेशमा कांग्रेसले १ र जसपाले १, सुदूरपश्चिममा कांग्रेसले १ र माओवादीले १ र लुम्बिनीमा कांग्रेसले १ र माओवादीले १ सिट पाउने अनौपचारिक सहमति भएपनि यसमा समाजवादी सन्तुष्ट देखिएको थिएन। माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा भोली उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। सिट बाँटफाँडमा सहमति भएसँगै दलहरुले आन्तरिक छलफल गरेर उम्मेदवारको नाम टुङ्गो लगाउने तयारी गरेका छन्।