Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गठबन्धन प्रचण्डका कारण टुट्यो

काठमाडौं । नेपाली कांग्रेसले पाँचदलीय गठबन्धन टुट्नुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोषी रहेको बताएका छन्। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेर गठबन्धन टुट्नु र प्रचण्ड जानुमा कांग्रेस दोषी नरहेको बताएका हुन्। ‘गठबन्धन टुट्नु र प्रचण्डजी जानुमा कांग्रेस दोषी छैन, प्रचण्डजी दोषी हुनुहुन्छ,’ मतले भने,‘गठबन्धन निर्माणताका गरेका प्रतिबद्धताहरू कांग्रेसले होइन प्रचण्डजीले तोड्नुभएको छ।’ पहिलो कार्यकालका लागि प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्ने विकल्पमा छलफल गर्न समय नै नपाइएको उनले बताए।
महतले वैकल्पिक गठबन्धन गरेर सरकार निर्माण गर्ने विषयलाई कांग्रेसले प्राथमिकता नदिएको जिकिर गरेका छन्। ‘कांग्रेस विचलित छैन। प्रचण्डजीलाई प्रधानमन्त्री दिएर जाने विकल्पबारे छलफल गर्न समय नै भएन,’ उनले थपे,‘वैकल्पिक गठबन्धन गरेर सरकारमा जाने कुरालाई हामीले प्राथमिकता नै दिएनौं।’ अहिलेको सत्ता गठबन्धनलाई अवसर केन्द्रित गठबन्धन भएको र धेरै दिनसम्म नटिक्ने महतले दाबी गरे।
‘राजतन्त्र चाहिनेदेखि राजतन्त्र चाँहिदैन भन्नेहरू यहाँ छन्, संघीयता पक्षधर र संघीयताविरोधीहरू छन्। यो अवसर केन्द्रित गठबन्धन हो,’ महतले भने,‘पदीय चाहनाबाट उन्मुख भएर गठबन्धन बनेको छ। विचार र दृष्टिकोणमा एकता छैन। यो गठबन्धनको आयु छोटिनसक्ने सम्भावना हामीले हेरेका छौं।’ ‘नो नट अगेन’ को नारा लगाउनेदेखि सत्ता चाहनेबीच प्रतिस्पर्धा भइरहेकोले अहिलेको सत्ता गठबन्धन धेरै अगाडिसम्म नजाने उनको तर्क छ। ‘कुन दलले ठूलो र महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्ने प्रतिस्पर्धा चलेको छ, नो नट अगेनको नारा लगाउने र सत्ता चाहिरनेबीच प्रतिस्पर्धा छ। गठबन्धनको आयु छोटिनसक्ने सम्भावना हामीले देखेका छौं,’ महतले भने।
प्रतिपक्षमा रहँदासम्म कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका वहन गर्ने उल्लेख गर्दै उनले आउने दिनमा पार्टी संगठन निर्माणमा केन्द्रित हुने बताए। ‘आउने दिनमा कांग्रेसको संगठन निर्माण, पार्टी एकता, व्यक्ति केन्द्रित नभएर लक्ष्य केन्द्रित भएर नेतृत्वले काम गर्छ,’ महतले भने,‘प्रतिपक्षमा रहँदासम्म सशक्त प्रतिपक्षको भूमिका वहन गर्छौं।’ ठूलो पार्टी विपक्षमा र साना पार्टीहरू सरकारमा जाने परिवेश सिर्जना भएको विषयमा भविष्यमा समीक्षा हुने उनको भनाइ थियो।