Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गणेश नेपालीको मृत्युले राज्यलाई गम्भीर आत्मसमीक्षाको सन्देश दिएको गगन थापाको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई समाज, राज्य र सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी घटना भएको बताएका छन्।

उनले यो घटनालाई राजनीतिक आरोप–प्रत्यारोप वा दोषारोपणको विषय नबनाउन आग्रह गर्दै यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गरेका छन्।

थापाले विगत वा वर्तमानमा कसको कमजोरी थियो भन्ने बहसभन्दा पनि मृतकका आश्रित परिवारलाई कसरी साथ र सहयोग गर्न सकिन्छ भन्नेमा सबैले ध्यान दिनुपर्ने बताएका छन्। उनले आ–आफ्नो ठाउँबाट परिवारको दुःखमा साथ दिन र सक्दो सहयोग गर्न आग्रह गरेका छन्।

उनले गणेश नेपालीको मृत्युको घटनालाई राज्य सञ्चालनसँग सम्बन्धित सामूहिक आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने धारणा राख्दै एउटा युवा किन यस्तो चरम निराशाको अवस्थामा पुग्छ र आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ भन्ने प्रश्न उठाएका छन्।

राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, भरोसा र सुरक्षा दिनुपर्नेमा किन कतिपय नागरिकले आफूलाई राज्यकै सामु असहाय महसुस गर्नुपरेको हो भन्ने विषयमा समाज, परिवार, राज्य र नागरिक सबैले गम्भीर आत्ममूल्यांकन गर्नुपर्ने उनको भनाइ छ।

थापाले यी प्रश्नहरूको इमानदार उत्तर खोज्दै भविष्यमा कुनै पनि नागरिकले यस्तो दुःखद् र आत्मघाती बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन्।