Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनापछि सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति भएको छ।

गृहमन्त्री सुदन गुरुङ र मृतकका परिवारबीच भएको सहमतिअनुसार घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरिने, गणेश यादवलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने तथा परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइनेछ।

यस्तै, मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा, बुबाआमाको निःशुल्क उपचार, गणेश यादवको नाममा स्मृति पार्क निर्माण तथा दाहसंस्कारका लागि आवश्यक सम्पूर्ण खर्च सरकारले व्यहोर्ने सहमति भएको छ।

गृहमन्त्री गुरुङले पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिँदै आज हेलिकोप्टरमार्फत सिरहा ल्याएर परिवारलाई जिम्मा लगाइने बताए।

उनले सुनसरी र सिरहाका घटनाको सत्यतथ्य पत्ता लगाउन अनुभवी अनुसन्धानकर्ता र विज्ञहरू सम्मिलित स्वतन्त्र छानबिन समिति गठन गरिएको जानकारी दिँदै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे।

साउन ११ गते सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा बोलबम यात्राका क्रममा दुई समूहबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको थियो। त्यसपछि मधेशका विभिन्न जिल्लामा प्रदर्शन चर्किएको थियो। सोही क्रममा सिरहाको गोलबजारमा भएको प्रदर्शन हिंसात्मक बन्दा गोली लागेर १५ वर्षीय गणेश यादवको ज्यान गएको थियो। त्यसयता स्थानीयले घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई न्यायको माग गर्दै आन्दोलन गर्दै आएका थिए।


सम्बन्धित समाचार

विधानलाई धोती लगाउँदै देउवा समूह

२०८३ श्रावण १६

ताजा नेपाल

प्रचण्डलाई हतारो, माधवलाई छैन विश्वास

२०८३ श्रावण १६

ताजा नेपाल