Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गगन थापाले केन्द्रीय समिति र कार्यसम्पादन समितिमा क-कसलाइ समेट्लान् ?

गगन थापाले केन्द्रीय समिति र कार्यसम्पादन समितिमा क:कसलाइ समेट्लान्

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको छ।
कार्यसम्पादन समिति गठनको जिम्मेवारी सभापति गगन थापालाई दिइएको छ, जसले सबैलाई मिलाएर समिति बनाउने तयारी गरिरहेका छन्।
देउवा पक्ष र शेखर कोइराला पक्षका नेताहरू कार्यसम्पादन समितिमा पर्छन् कि पर्दैनन् भन्ने चासो रहेको छ, तर पूर्वसंस्थापन पक्ष सर्वोच्चको निर्णय नआएसम्म समितिमा जान तयार छैन।
काठमाडौँ । नेपाली कांग्रेसको माघ ९ गते शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकको ५ बुँदे निर्णयको पाँचौँ नम्बरमा लेखिएको छ, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गर्दछ ।

कार्यसमितिको निर्णयानुसार तत्काल कार्यसम्पादन समिति गठन गर्ने तयारी भइरहेको र गठनको जिम्मेवारी सभापति गगन थापालाई दिइएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ‘हामी प्रतिनिधि सभा निर्वाचनको दौरानमा छौँ । पटक–पटक बैठक बसेर निर्वाचनबारे निर्णय गर्नुपर्ने हुन्छ । तसर्थ तत्काल केन्द्रीय समिति बैठक बस्न सम्भव हुँदैन, प्रवक्ता चालिसेले रातोपाटीसँग भने, कार्यसम्पादन समिति तत्काल गठन हुन्छ । सबैलाई मिलाएर गठनको जिम्मेवारी सभापतिज्यूलाई दिएका छौँ । उहाँले तयारी गरिरहनु भएको छ ।

गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति आएको हो । त्यो विशेष महाधिवेशनलाई १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूह र डा. शेखर कोइराला नेतृत्वको समूहले स्विकारेको थिएन । विशेष महाधिवेशनविरुद्ध दुई समूह निर्वाचन आयोगमा पुगेका थिए । आयोगले विशेष महाधिवेशनबाट गठित थापा नेतृत्वको समितिलाई आधिकारिकता दिएपछि सो निर्णयविरुद्ध उनीहरू सर्वोच्च अदालतमा पुगेका छन् ।

यस्तो अवस्थामा थापाले गठन गर्ने कार्यसम्पादन समितिमा देउवा पक्ष र शेखर पक्षका नेताहरू पर्छन् कि पर्दैनन् भन्नेमा धेरैको चासो छ ।

थापा पक्षका नेताहरू भने विधानमा सभापतिले मनोनयन गर्न पाउने केन्द्रीय सदस्यमा पूर्वसंस्थापन र डा. कोइराला समूहका नेताहरूलाई मनोनीत गरिने बताउँछन् ।

सहमहामन्त्री डा. डिला संग्रौला पन्तले सभापति थापाले सबैलाई मिलाएर केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिलाई पूर्णता दिने तयारी गरिरहेको जानकारी दिइन् । सभापतिले सबैलाई मिलाएर केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समिति बनाउने गृहकार्य गरिरहनु भएको छ, उनले रातोपाटीसँग भनिन्, कार्यसम्पादनमा ल्याउन पहिला केन्द्रीय कार्यसमितिमा मनोनीत गर्न प¥यो । त्यसका लागि विभिन्न माध्यमबाट छलफलको प्रयास भइरहेको छ ।

कांग्रेस विधानमा सभापतिले ३३ जनालाई केन्द्रीय समितिमा मनोनीत गर्न पाउने व्यवस्था छ । विधानको धारा २१ को उपधारा १० मा लेखिएको छ, कम्तीमा दश वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी तेत्तीस जना सदस्य मनोनीत गर्नेछ ।

त्यही ३३ जनाभित्र दुई समूहका सिनियर नेताहरूलाई मनोनीत गर्ने र कार्यसम्पादन समितिमा लैजाने प्रयासमा सभापति थापा छन् । ‘पहिले केन्द्रीय समितिमा मनोनीत गर्ने र त्यसपछि कार्यसम्पादन समितिमा लैजाने प्रयास हुन्छ । पार्टीलाई एक बनाएर लैजान हामीले प्रयास गरिरहेका छौँ, सहमहामन्त्री डा। संग्रौलाले भनिन् ।

तर, पूर्वसंस्थापन पक्ष भने सर्वोच्चमा दायर भएको रिटको छिनोफानो नहुँदै केन्द्रीय समिति र कार्यसम्पादन समितिमा जाने पक्षमा देखिन्न । पूर्वसंस्थापन पक्षका एक नेताले भने, हामीले सर्वोच्चमा दायर गरेको रिटको छिनोफानो नहुँदै अहिले केन्द्रीय समिति र कार्यसम्पादन समितिमा जाने कुरा हुँदैन ।

यद्यपि सहमहामन्त्री डा. संग्रौलाले पहिला अहिलेको केन्द्रीय कार्यसमितिमा रहेकालाई समेटेर कार्यसम्पादन समिति बनाइहाल्ने र पछि अर्को समूहलाई मिलाउँदै लैजाने जानकारी दिइन् ।

अर्का एक नेताका अनुसार देउवा समूहका शीर्ष नेताहरूसँग विशेष महाधिवेशन सम्पन्न भएपछि सभापति थापाले भेट नै गरेका छैनन् । भेट्ने प्रयास गरे पनि सफल हुन नसकेका कारण पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजाने रणनीति अख्तियार गर्न नसकेको थापा निकट नेता बताउँछन् ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल