Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बेइजिङ । रुसले युक्रेनमाथि आक्रमण थालेको दुई साता नाघिसकेको छ । हातहतियार र सैन्य शक्तिका आधारमा विश्वकै शक्तिशालीमध्येको एक रुसले तीन–चार दिनमै युक्रेनमाथि नियन्त्रण कायम गर्ने र आफूअनुकूलको नेतृत्वमार्फत शासन सञ्चालन गर्ने अनुमान पश्चिमा देशहरूको थियो । तर पूर्वानुमानविपरीत युक्रेनले रुसी फौजको कडा प्रतिरोध गरिरहेको छ । जसका कारण रुसी आक्रमण लम्बिएर १९ औं दिनमा पुगेको छ । रुसले पछिल्ला दिनहरूमा भने युक्रेनमाथिको आक्रमण तीव्र पार्दै लगेको छ । उसले युक्रेनका सैन्य अखडा, तालिम केन्द्र तथा अन्य संरचनामा क्षेप्यास्त्र तथा हवाई हमला गरिरहेको छ । त्यस्तै, राजधानी किभबाट २५ किलोमिटरको दूरीमा रहेका रुसी सेनाका बख्तरबन्द ट्यांकमाथि आक्रमण गरी अघि बढ्न रोकेको बेलायत र अमेरिकी अधिकारीको दाबी छ ।
रुस–युक्रेन युद्ध अनुमानितभन्दा निकै बढी दिन लम्बिइरहेका बेला ‘रुसले चीनसँग सैन्य सहयोग मागेको’ अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् । युक्रेनमा अतिक्रमण सुरु गरेदेखि नै ‘रुसले चीनसँग सैन्य उपकरण’ मागेको वासिङ्टन पोस्ट अमेरिका र फाइनान्सियल टाइम्स बेलायत अखबारमा प्रकाशित समाचारमा उल्लेख गरिएको हो । चीनसँग सहयोग मागिएको दाबी गरे पनि अमेरिकी अधिकारीहरूले रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने केही नबताएका ती अखबारले जनाएका छन् । रुसी आक्रमण तेस्रो सातामा प्रवेश गरेसँगै रुससँग केही विशेष प्रकारका हतियार सकिएको ती अमेरिकी अधिकारीको दाबी छ । समाचार सार्वजनिक भएसँगै रुसलाई सहयोग नगर्न अमेरिकाले चीनलाई चेतावनी दिएको छ । मस्कोलाई सहयोग गरेको खण्डमा बेइजिङले ‘कठोर परिणाम’ सामना गर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानको चेतावनी छ । ‘रुसले भोगिरहेको क्षति चीन या अन्य कुनै पनि देशले पूर्ति गर्न सक्दैनन्,’ उनले भनेका छन् ।
सुलिभानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको शासनप्रति अमेरिका र उसका साझेदार देशहरूले लगाएका प्रतिबन्धको उल्लंघन नगर्नसमेत चेतावनी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समाचारसँगै अमेरिकाविरुद्ध कडा रबैया अपनाउँदै आएका रुस–चीन सम्बन्धबारे समेत प्रश्नचिह्न खडा भएको छ । अमेरिकी दाबीको चीनले भने कडा शब्दमा आपत्ति जनाएको छ । युक्रेनमाथि जारी आक्रमणका लागि रुसले सहयोग मागेको भन्ने अमेरिकी अधिकारीहरूको भनाइ ‘मिथ्या सूचना’ भएको चीनले जनाएको छ । बेइजिङमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिझाङले रुस–युक्रेन युद्धमा चीनको भूमिकाबारे अमेरिकाले ‘गलत नियत राखेर’ भ्रम फैलाइरहेको बताएका छन् ।
चीनले शान्ति र संवादमार्फत युद्ध अन्त्यका लागि अनुरोध गर्दै रचनात्मक भूमिका खेलिरहेको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ । वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता पनि रुसले हतियार मागेको बारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । बीबीसीसँग कुराकानी गर्दै उनले चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु रहेको दाबी गरे । चीनसँग सैन्य सहयोग मागेको भन्ने अमेरिकी अधिकारीहरूको दाबी रुसले पनि खण्डन गरेको छ । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्रि पेस्कोभले आफ्नो देशले चीनसँग कुनै सैन्य सहयोग नमागेको भन्दै ‘युक्रेनमा विशेष कारबाही जारी राख्ने सामर्थ्य’ रुससँग रहेको बताएका छन् । युक्रेनमा जारी रुसी कारबाही पूर्वनिर्धारित समय अनुसार नै सफल हुने उनको दाबी छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चाहेअनुसार युक्रेनमा कारबाही अघि नबढेको भन्ने अमेरिका र युरोपेली संघको दाबीलाई मस्कोले जानकारीमा लिएको पनि क्रेमलिनले जनाएको छ ।
अमेरिकी अधिकारीको दाबी केही हदसम्म ‘प्रोपोगान्डा’ भएको कतिपयको दाबी छ । अमेरिकाले र युरोपेली संघ ईयू ले युक्रेनलाई सहयोग गरिरहेको अवस्थामा चीनले रुसलाई सहयोग गर्न सक्छ भन्ने त्रासमा अमेरिकी नेतृत्व परेको देखिएको छ । जसका कारण जो बाइडेन प्रशासनले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई वरिष्ठ चिनियाँ कूटनीतिज्ञसँग वार्ताका लागि पठाएको ठानिएको छ । यसलाई चीनलाई थप दबाब दिने अमेरिकी कदमका रूपमा प्रयोग गरिएको बीबीसीको विश्लेषण छ ।
केही साताअघि चीनमा हिउँदे ओलम्पिक्स सुरु भएसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति पुटिनले नयाँ गठबन्धनको घोषणा गर्दै ‘त्यसको कुनै पनि सीमा नहुने’ बताएका थिए । अमेरिकी नेतृत्वमा विभिन्न देशले ‘रुस–युक्रेन युद्धमा आगोमा घिउ थपेका’ चीनको आरोप छ । यी सबै घटनाक्रमका बाबजुद चीनले हालसम्म रुस–युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ । तर उसले युक्रेन अतिक्रमणलाई लिएर रुसको निन्दा भने गरेको छैन ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल