Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गहुँपछि भारतले लगायो चिनी निर्यातमा रोक

काठमाडौँ । छिमेकी मुलुक भारतले गहुँपछि चिनी निर्यातमा रोक लगाएको छ । भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उखुको अफसिजन भएकाले भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रणका लागि भन्दै केही महिना निर्यातमा रोक लगाएको हो । भारत ब्राजिलपछि विश्वमा धेरै चिनी निर्यात गर्ने मुलुक हो । भारतबाट बंगलादेश, इन्डोनेसिया, मलेसियामा सबैभन्दा धेरै चिनी निर्यात हुने गरेको छ । साथै भारतको यो निर्णयले नेपालमा समेत असर पर्नेछ । नेपालमा स्वदेशी उत्पादनले मात्रै चिनीको माग धान्न सक्दैन । यसले कालोबजारी बढ्न सक्ने जोखिम हुन्छ । यसअघि भारतले गहुँ निर्यातमा रोक लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै गहुँ निर्यातमा रोक लगाएको हो । वैशाख ३० अघि नै अपरिवर्तनीय लेटर अफ क्रेडिट आईएलओसी जारी भएकाको हकमा भारतले निर्यातको व्यवस्थापन गर्ने भनेको छ । गहुँ उत्पादनमा पनि भारत विश्वको दोस्रो ठूलो मुलुक हो । पछिल्लो समय विभिन्न देशहरुले खाद्यान्न निर्यातमा रोक लगाउँदै गएका छन् । युक्रेनमाथि रुसको आक्रमणले गर्दा खाद्य संकट बढ्न सक्ने अनुमान समेत हुन थालेको छ । मलेसियाले जुन १ देखि कुखुराको मासु निर्यातमा रोक लगाएको छ । इन्डोनेसियाले हाल पाम तेलमा रोक लगाएको छ भने सर्विया र कजाकिस्तानले पनि खाद्यान्न निर्यातमा कोटा लगाएका छन् ।