Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गायनमा अर्जुनको डेढ दशक

सानो छँदा अर्जुन कौसल सोच्थे, ‘एक दिन चर्चित गायक बन्छु ।’ तर कसरी गायक बन्ने भन्नेचाहिँ त्यतिखेर उनीसँग भेउ थिएन । ‘झुम्कावाली बठानियाँ दिल चुराके लेगई’जस्ता चर्चित भोजपुरी गीतका गायक अर्जुन भन्छन्, ‘तर, इच्छा गरेपछि पुग्दोरहेछ ।’ भनिन्छ, ‘जहाँ इच्छा, त्यहाँ उपाय’ । यस्तै, आफ्नो इच्छाअनुरूप गीत/संगीतलाई करिअर बनाएका गायक कौसल अहिले व्यस्त गायक बनेका छन् । उनी भन्छन्, ‘मलाई बाल्यकालदेखिकै गायक बन्ने इच्छा थियो । त्यो इच्छा पूरा गर्न पाउँदा खुसी छु ।’ ‘नथियावाली’जस्ता दर्जनौँ लोकप्रिय गीतका गायक तथा संगीतकार अर्जुन नेपाली लोकपप गीतका लागि प्रखर मानिछन् । गायक अर्जुनले यही क्षेत्रमा डेढ दशकभन्दा बढी बिताइसकेका छन् । उनी भन्छन्, ‘यो यात्रा मेरो सास भइञ्जेल जारी रहन्छ ।’
२०३६ साल १ चैत गते पाल्पामा जन्मिएका अर्जुनको बाल्यकाल निकै संघर्षमय रह्यो । उनी ती दिन स्मरण गर्दै उनी भन्छन्, ‘त्यतिबेला परिवारको आर्थिक अवस्था कमजोर थियो । त्यसैले निकै दुःख बेहोर्नु परेको थियो ।’ तर, विस्तारै अर्जुनको दैनिकी परिवर्तन हुँदै गयो । कुनै बेला चिया पसलमा समेत काम गर्न भ्याएका अर्जुन भन्छन्, ‘तर, आफ्नो इच्छालाई मार्न दिन्न भन्ने ममा डृढता थियो किनकि सानैदेखि मलाई कलाकार बन्ने हुटहुटीले छोएको थियो ।’ आफ्नो रहर पूरा गर्न अर्जुनले ०५५/५६ तिर ‘आउने दसैंमा’ नामक एल्बम ल्याए । अर्जुनको उक्त पहिलो एल्बमलाई दर्शक तथा श्रोताले रुचाए पनि । त्यसपछि नै उनको सांगीतिक यात्राले मूलबाटो समातेको हो । ‘गायक अर्जुन’ भनेर चिनिन थालेपछि उनी झनै हौसिए । र, लगातार एल्बम निकाल्दै गए । त्यसक्रममा उनी दर्जनौं एल्बमका गायक बने । अर्जुनले ०५८ मा ‘चौतारी’, ०५९/६० मा चौतारी भाग–२ ‘मनकी रानी’, ०६१ मा चौतारी भाग–३ ‘मायाको चिनो’, ०६२ मा चौतारी भाग–४ ‘मायाको चिनो’ र ०६३ मा चौतारी भाग–५ ‘म त कालीपारि’ ल्याए । उनी भन्छन्, ‘यी एल्बम ल्याएपछि दर्शक तथा श्रोताको मायाले म थप हौसला र उर्जा मिल्यो ।’


त्यसपछि ०६४ मा ‘भिरको बाटो’, ०६५ मा ‘लाहुरे’, ‘लाहुरे–२’, ‘गोर्खाली पल्टन’ जस्ता गीत पस्किए । यी एल्बममा अर्जुनकै शब्द, स्वर र संगीतबद्ध ८÷८ वटा गीत समेटिएका छन् । ती गीतले अर्जुनको गति झनै बढ्दै गयो । उनी रोकिएनन्, ०६६ मा ‘मनै त हो’, ‘भिरको बाटो–२’, ०६७ मा ‘कहाँ छ्यौँ कहाँ’, ०६८/६९ मा ‘भूकम्प’, ‘भिरको बाटो–३’, ‘घुमिघुमि नाचिदेऊ सोल्टिनी’, ०७३ मा ‘मस्तमगन’, ०७४ मा ‘आँखा लोभी मन पापी’ र ०७५ मा ‘डम्फु मादल’ गीत ल्याए । ती गीत उनी स्टेज कार्यक्रममा चम्किए । मेला महोत्सवहरूमा उनको उपस्थिति अनिवार्यजस्तै बन्यो । हालसम्म अर्जुनले तीन सयभन्दा बढी गीतमा शब्द÷संगीत दिइसकेका छन् सयौं उत्रि नै संख्यामा गाएका छन् । अर्जुनले ०६९ मा रेडियो नेपालबाट स्वर परीक्षणमा उत्कृष्ट ठहरिएका थिए । सन् २०१८ फेब्रुअरीमा गीत गाएरै ‘गिनिज वल्र्ड रेकर्ड’को प्रशंसा पत्र समेत पाएका अर्जुन संगीत उद्योग संघ, प्रस्तोता समाज, रोयल्टी संकलक समाज, लोकदोहोरी प्रतिष्ठान नेपाललगायत विभिन्न दर्जन संघसंस्था आवद्ध छन् ।
नेपाली गीतसंगीतमा पु¥याएको योगदानवापत अर्जुन विभिन्न पुरस्कार र सम्मानबाट सम्मानीत भइसकेका छन् । ‘नेशनल पावर न्युज म्युजिक अवार्ड–२०१८’, ‘अमिन नेशनल म्युजिक अवार्ड–२०१९’, ‘रारा राष्ट्रिय म्युजिक अवार्ड–२०७९’, ‘पाँचौं राप्ती म्युजिक अवार्ड–२०७३’लगायतका अवार्डबाट सम्मानीत भइसकेका उनी भन्छन्, ‘सम्मान र अवार्ड पनि कलाकारको सम्पति हो ।’ पछिल्लो समय काठमाडौंको अनामनगरमा एस. स्टुडियो प्रालीअन्तर्गत एस अडियो रेकर्डिङ स्टुडियो र रेम्बो म्युजिक सञ्चालन गर्दैै आएका अर्जुन भन्छन्, ‘संगीत क्षेत्रमा अझै धेरै गर्नुछ किनकि संगीत भनेको अविराम यात्रा हो ।’