Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गीत संगीतका थुप्रै चुचुरा चुम्नु छ

राजु खड्का, सङ्गीत संयोजक

श्रद्धेय राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेले लेख्नुभए झैँ ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल । सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल’ यो संगीत संयोजक राजु खड्कामा लागुहुन्छ । जिन्दगीमा अनेकन दुःख, कष्ट र हण्डर खाएर उनले सफलताको सिडी चढेका छन् । एउटा बालकलाई बुबा आमाले मार्गदर्शन गर्ने गर्छन् तर जन्मदै उनले बुबा आमाको मुख कहिल्दै देखेनन र पनि सफल छन् आफ्नो क्षेत्रमा । आफ्नै पहिचान छ उनको नेपाली गीत संगीतको क्षेत्रमा । काठमाडौंको हाँडीगाउँमा जन्मिएका उनले आफ्नो बुबाआमालाई कहिल्यै देखेनन् । उनका बुबाआमाको पहिचान नै भएन र कहिल्यै देखेनन् । सानैदेखि अनाथ भए पनि राजुमा भएको प्रतिभाका कारण आज आज उनी यो क्षेत्रमा सफल छन् । पछिल्लो समयसम्म २७ सय भन्दा बढी गीतमा काम गरेको बताउनुहुने राजु खडकासँग ताजा खबरका लागि गरिएकोे कुराकानी:

० यहाँको बाल्यकाल कष्टकर रहे पनि अहिले यो क्षेत्रमा सफलता प्राप्त गर्नुभएको छ, कस्तो लाग्छ ति दिनलाई फर्किएर हेर्दा ?
– हो, तपाईंले भने जस्तै मेरो बाल्यकाल कष्टकर थियो । तर, ममा एक खालको हिम्मत थियो, जुनुन थियो त्यसैले नै आजको दिनमा आएको छु । मैले न आमाको काखको न्यानो अनुभव गरे न बुबाको माया नै । न त कोही आफ्ना आफन्तीको स्नेह । न मनले चाहेको खान पाए न लाउन नै । केही कुराको अनुभव गर्न पाएँ मात्र सड्क को बास । सड्क पेटीमा फ्याकिएका खानेकुराले भोक मेटे र पुल मुनी, सड्क पेटीमामा रात कटाए । कसरी बताऊँ मेरो विगत अहिले सम्झिदा पनि मन भक्कानिएर आउँछ । निक्कै दुःख कष्टले सफलता चुम्दै गरेको छु । हिजाको दिन कहाली लाग्दा थिए भने आजको सफलताले मन फुरुङ हुन्छ । तरपनि म यतिमै सन्तुष्ट भएर बस्ने व्यक्ति होइन । यो क्षेत्रमा मैले अझ धेरै गर्न बाँकी नै । अझै गीत संगीतका थुप्रै चुचुरा चुम्नु छ । एउटा नयाँ कृर्तीमानको झण्डा फहराउनु छ ।

० कसरी आउनुभयो यो क्षेत्रमा ?
– मैले माथि पनि भने म सडक बालक । ठमेल स्थित मार्कोपोलो होटलका सञ्चालक आदरणिय सर डम्बर बरालको नजरमा ममा परेछ । उहाँकै माध्यमबाट क्यानडियन नागरिक मोनिका योङको सहयोगमा स्कूलमा भर्ना हुने अवसर मिल्यो, त्यो स्कुल मा व्यतित केही समय पश्चात स्कूल मै ‘भ्याइस टेस्ट’ कार्यक्रमा भाको थियो सो कार्यक्रममा म प्रथम भए । त्यसपछि यो क्षेत्रमा लागे । यो क्षेत्रमा पनि विभिन्न हण्डर र ठक्कर खादै आफूमा भएको मैले यो क्षेत्रमा केह गर्नुपर्छ भन्ने अभिलाषाले आज मलाई यो ठाउँमा ल्याइ पुराएको छ ।

० कसरी आकर्षित हुनुभयो सङ्गीतिक क्षेत्रमा ?
– मैले केही माथि पनि यस विषयमा उप्काए । स्कूलमा किबोर्ड, हार्मोनियम थियो कैलेकाही बजाउनुहुन्थ्यो सरहरूले । र, त्यो किबोर्ड हार्मोनियम मैले लुकी–लुकी बजाउँथे । अलि–अलि बजाउन थालेपछि मैले पनि केही सक्छु भन्ने मनोवल आयो । सिक्दै गए लगाव झन झन हुँदै गयो यो क्षेत्रमा ?

० यहाँको पहिलो गीत कुन थियो ?
– तत्कालीन समयका चर्चीत आदरणिय राजेश लामा गुरुको मार्गदर्शन र अवसरमा ‘छैनन् निद रातमा…’ बोलको गीतमा पहिलो म्युजिक एरेञ्ज गर्ने अवसर पाएको थिए ।

० यहाँले कति जति गीतमा काम गर्नुभयो ?
– आधुनिक, पप, दोहोरी, भजन, स्वदेश गान जस्ता विभिन्न धारका लगभग २७ सय भन्दा धेरै गीतमा सङ्गी संयोजन गरेको छु

० पहिलेको तुलनामा हाम्रो गीत संगीत व्यवसायिक हुँदै गएको भनिन्छ नि ? 
– हो, पहिलेको तुलनामा केही व्यसायिक देखिएको छ । तर, स्तरिय नभएको गुनासो पाइन्छ । पहिला धेरै सधानाबाट यो क्षेत्रमा आउनेहरू हुनुहुन्थ्यो भने अहिले त्यस्तो पाइदैन । पहिलाका श्रृजना जति हृदयस्पर्शी हुन्थे अहिले त्यसमा केही कमी हो कि भन्ने छ । अहिलेको बाजार डिजीटल छ, राम्रा भन्दा पनि पैसा र पउचवालाको बोलबाला भएको पाइन्छ ।

० विकृत मौलाउँदै गएको छ भन्ने गरिन्छ ?
– माथि पनि यसका विषयमा केही कुरा आए । बिकृति मौलाउदै गएको चिन्ता गर्न थालिएको छ । हरेक गीतहरूमा पश्चिमेली बाजा को वर्चस्व पाइन्छ पछिल्लो समय । मौलिक गीत को मौलिकता हाराएको छ । भिडियो त्यस्तै छ परिवारसँग बसेर हेर्न नसकिने अवस्था का दृश्य छन् । फेरि सत्य के हो भने मौलिक गीत सङ्गीत जहिले स्रोताको रोजाइमा पर्नेगर्छ भने अरु क्षणिक हुन् ।

० चोरीको आरोप पनि लाग्ने गर्छ नि गीत संगीतमा ?
– सङ्गीत क्षेत्रमा साधना, लगनशिलता, मिहेनत केही छैन । प्रायः सर्जकले अहिले कोठामा बसेर गीत बनाउनु हुन्छ । त्यसरी नयाँ सृजना सायदै आउछन् । प्रायः कहीं न कही ठोकिएकै हुन्छ ।

० तपाईंका कस्ता गीत अब यहाँका स्रोता÷दर्शकमाझ आउँदै छन् ?
– संगीत सम्योजन कार्य त निरन्तरता नै छ । हाल आधुनिक गीत ‘गाउँछ मेरो दिल…’ ले बाजारमा राम्रो चर्चा कमाउन सफल भएको छ । त्यस्तै स्वदेश गीत, लोकगीत, दोहोरी गीत, चलचित्र, भजनहरू आउने क्रम जारी नै छ ।

० गीत सङ्गीत र जीवन के रहेछ ?
– जीवन सुख दुःख को संयोग हो, र लेखान्त हो भोग्नुको विकल्प छैन । र, सङ्गीत सोही जीवनको सहयात्री हो । दुखेको मनलाई मलम, खुशीको क्षणलाई रंग मिसाई दिने ।

० अन्त्यमा ?
– सङ्गीत जीवन हो । वास्तविक कला भएका सर्जक लाई विभिन्न तवरले साथ सर्पोट गर्न अनुरोध गर्दछु । साधना र उत्कृष्ट सृजना गर्न मनोवल पैदाहोस् । जय गीत, जय सङ्गीत ।