Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुगलले नेपालमा सुरु गर्‍यो आपत्कालीन सूचना सेवा, बाढीको जोखिमबारे समयमै जानकारी पाइने

काठमाडौं । बाढी तथा अन्य प्राकृतिक विपद्का जोखिमबारे सर्वसाधारणलाई समयमै जानकारी गराउने उद्देश्यले गुगलले नेपालमा आपत्कालीन सूचना सेवा सुरु गरेको छ।

गुगलले आफ्नो होमपेजमा ‘नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एन्ड अपडेट्स’ नामक छुट्टै लिंक उपलब्ध गराएको हो। उक्त सेवामार्फत नेपालमा पछिल्लो समय देखिएको बाढीको अवस्था, जोखिममा रहेका क्षेत्र तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित सम्बन्धित समाचार हेर्न सकिने व्यवस्था गरिएको छ।

सेवामा गुगलको ‘फ्लड अलर्ट’ का साथै बाढी प्रभावित तथा जोखिम क्षेत्र देखाउने नक्सासमेत समावेश गरिएको छ। यसबाट बाढीको जोखिममा रहेका स्थान पहिचान गर्न र ती क्षेत्रको अवस्थाबारे जानकारी लिन सहज हुने अपेक्षा गरिएको छ।

गुगलका अनुसार आपत्कालीन सूचना सेवाको मुख्य उद्देश्य सरकारी निकायबाट जारी हुने बाढीसम्बन्धी पूर्वसूचना तथा चेतावनीलाई डिजिटल माध्यमबाट छिटोभन्दा छिटो सर्वसाधारणसम्म पुर्‍याउनु हो।

यसका लागि जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनालाई गुगल सर्च तथा गुगल म्याप्समार्फत प्रयोगकर्तासम्म पुर्‍याउने व्यवस्था गरिएको छ।

विशेषगरी बाढीको उच्च जोखिममा रहेका क्षेत्रमा रहेका नागरिकले समयमै चेतावनी प्राप्त गर्न सके सम्भावित जोखिमबाट बच्न तथा आवश्यक परे सुरक्षित स्थानतर्फ जान सहयोग पुग्ने विश्वास गरिएको छ।

नेपालमा पछिल्लो समय बाढी, पहिरो तथा आकस्मिक प्राकृतिक विपद्का घटना बढिरहेका बेला गुगलको यो सेवा आपत्कालीन अवस्थामा सूचना प्रवाह गर्ने थप डिजिटल माध्यमका रूपमा उपयोगी हुने देखिएको छ।