Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुण्डुमै बयान दिन तयार हुन् ओली ?

काठमाडौं । सरकार र दलहरुबीचको दुरी विस्तारै घट्दै गएको छ । अब चुनावको वातावरण विस्तारै बन्दै गएको अनुमान गर्न सकिन्छ । जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न गठित आयोगप्रति सबैभन्दा असन्तुष्ट छन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। आयोग गठनदेखि नै उनले यसको औचित्य र कार्यशैलीमाथि टिप्पणी गर्दै आएका छन्। सार्वजनिक मञ्चबाट मात्रै होइन, उनले शीर्ष तहको छलफलमा पनि आयोगको औचित्यमा प्रश्न गर्न छाडेका छैनन्। भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिँदै बालुवाटार फर्किएपछि पहिलो पटक मंगलबार शीतलनिवासमा शीर्ष नेताहरूको बैठक बस्यो। प्रधानमन्त्री सुशीला कार्कीले ठूला तीन दलका नेताहरूलाई भेट्दै नभेटेको टिप्पणी भइरहेका बेला यो भेटघाटको व्यवस्था मिलाएका थिए राष्ट्रपति रामचन्द्र पौडेलले। भेटघाटमा प्रधानमन्त्री कार्कीसहित तीन जना शीर्ष नेता अर्थात् कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका नवनिर्वाचित अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड मात्रै उपस्थित थिए। यो छलफल मुख्यगरी निर्वाचनको वातावरण बनाउने गरी आयोजित थियो। प्रधानमन्त्री कार्कीले आफ्ना शीर्ष नेताहरूसँग छलफलै नगरेको भन्दै यी दलहरूले असन्तुष्टि जनाउँदै आएका थिए। प्रधानमन्त्रीमा कार्की नियुक्त भएपछि पटकपटक दलहरूसँग छलफल गरे पनि यी तीन दलबाट भने दोस्रो वा तेस्रो तहका नेताहरू मात्रै सहभागी हुँदै आएका थिए। हरेक छलफलमा उनीहरूले निर्वाचनको वातावरण नबनेको भन्दै प्रधानमन्त्रीसँग गुनासो गर्थे। प्रधानमन्त्रीले आफ्ना शीर्ष नेताहरूसँग छलफल नगरी निर्वाचनको वातावरण नबन्ने उनीहरूको अडान थियो। मंगलबार दलहरूलाई सकारात्मक बनाउन सरकारले दुई वटा काम एकसाथ गरिरहेको थियो। पहिलो, दलहरूका कार्यालयमा सरकारी टोली पठाएर। दोस्रो, शीर्ष नेताहरूसँग प्रधानमन्त्रीले पहिलो पटक भेटघाट गरेर। मंगलबार दुई मन्त्री अनिल सिन्हा र जगदीश खरेल सम्मिलित संवाद टोली तीन ठूला दलको कार्यालयमा पुग्यो। कांग्रेस मुख्यालय सानेपाबाट यात्रा सुरु गरेको टोली एमाले मुख्यालय च्यासल हुँदै नेपाली कम्युनिस्ट पार्टीको मुख्यालय पेरिसडाँडा पुग्यो।
दिउँसो ३ बजेपछि शीतलनिवासमा राष्ट्रपति, प्रधानमन्त्री र यी तीन दलका प्रमुख बसेर निर्वाचनका लागि माहोल बनाउने प्रयास गरेको राष्ट्रपतिको सचिवालयको भनाइ छ। यद्यपी शीतल निवास छलफलमा पनि संसद् पुनर्स्थापना र चुनाव गराउने दुई धार देखा परेको छ। यो भेटघाटमा एमाले अध्यक्ष ओलीले भने आफूलाई जाँचबुझ आयोगले बयान लिन लागेको विषय पनि उठाए। यसअघि जस्तै असन्तुष्टि पोखे। ओलीले आफ्नो बयान लिन घरमै आए स्वीकार गर्ने तर जाँचबुझ आयोगको कार्यालय सिंहदरबार भने नजाने संकेत पछिल्ला दिनमा गरिरहेका थिए। शीतल निवासमा मंगलबार राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक प्रचण्डको सामुन्ने त्यही कुरा दोहोर्‍याएका हुन्। तर सुरुमा यति कठोर रूपमा प्रस्तुत भएका उनले घरमै आए भने बयान दिने संकेत पनि गरेका थिए। घरमै आए चिया खुवाएर पठाउने, कुराकानी गर्ने, बोलचाल नै बन्द नगर्ने बताए। तर बयान भने व्यक्तिको स्वेच्छाको कुरा भएको उनले दाबी गरे। जाँचबुझ आयोगले केही दिनमै बयानका लागि ओलीलाई पत्राचार गर्ने तयारी गरेको छ। मंगलबार ओली सरकारकै गृहमन्त्री रमेश लेखकलाई बोलाउँदै पत्रचार गरेको छ। तर ओलीले भने आयोग गठन गर्ने प्रधानमन्त्री र राष्ट्रपति सामु नै बयान नदिने दोहोर्‍याएका छन्।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल