Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाँदै, मृतकका परिवारसँग भेट गर्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन्। सिरहामा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारसँग भेटघाट गर्ने उनको कार्यक्रम रहेको छ।

सुनसरीको देवानगञ्जमा बिहीबार राति मृतकका आफन्तसँग भेटेपछि गृहमन्त्री गुरुङले आफू शुक्रबार सिरहा जाने जानकारी दिएका हुन्। देवानगञ्जमा उनको उपस्थितिमै सरकार र पीडित परिवारबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

सहमतिपछि गुरुङ विराटनगर पुगेका छन्। केही समय विराटनगरमा बिताएपछि उनी सिरहातर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

सुनसरीको हिंसात्मक घटनापछि विरोध प्रदर्शन मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको छ। सिरहामा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाही निवासी गणेश यादवको मृत्यु भएको थियो।

सिरहा भ्रमणका क्रममा गृहमन्त्री गुरुङले मृतकका परिवारलाई भेट्नुका साथै जिल्लाको सुरक्षा अवस्था र पछिल्लो परिस्थितिबारे प्रहरी प्रशासनका अधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।