Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्यास आपूर्तिमा समस्या कि कालोबजारी?

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिहीबार राजीनामा दिइन्। ग्यास आपूर्तिमा कर्मचारीले असहयोग गरेको तथा व्यवसायीलाई ‘पाता फर्काउनुपर्ने’ जस्तो विवादास्पद अभिव्यक्ति दिएपछि उनी चौतर्फी आलोचनामा परेकी थिइन्।

यादव उद्योगमन्त्रीका रूपमा जिम्मेवारीमा आएदेखि नै मुलुकमा ग्यास अभावको समस्या देखिएको थियो। यद्यपि, भन्सार विभागको तथ्यांकले पछिल्ला महिनामा नेपालमा ग्यासको आपूर्ति विगतको तुलनामा बढ्दै गएको देखाएको छ। आपूर्ति बढिरहेको अवस्थामा पनि बजारमा सहज रूपमा ग्यास उपलब्ध हुन नसक्नुले वितरण प्रणाली र बजार व्यवस्थापनमाथि प्रश्न उठेको छ।

समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप खेपेकी यादवले कर्मचारी र व्यवसायीलाई लक्षित विवादास्पद अभिव्यक्ति दिएपछि अन्ततः मन्त्री पदबाटै राजीनामा दिनुपर्ने अवस्था आएको हो।

तर, यादवको राजीनामापछि सरकारले अघि बढाएको अनुसन्धान तथा कारबाहीले भने बजारमा ग्यासको बिक्री–वितरणमा अनियमितता र कालोबजारी हुनसक्ने आशंका थप बलियो बनाएको छ।

धमाधम ग्यास सिलिण्डर बरामद

शुक्रबार मात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका–३२, नरेफाँट र सामाखुशी क्षेत्रका ग्यास बिक्रेताबाट लुकाएर राखिएका ३७२ वटा ग्यास सिलिण्डर बरामद गरेको छ।

प्रहरीले नरेफाँटस्थित रामेछाप ब्राण्ड ग्यास डिलरका सञ्चालक तथा बसुन्धारास्थित हाम्रो सगरमाथा सहकारी संस्थामार्फत ग्यास कारोबार गर्दै आएका एक व्यक्तिलाई पक्राउ गरेको छ।

त्यसैगरी, प्रहरीले तीनकुनेस्थित गैरीगाउँबाट दुईवटा ट्रकमा लोड गरी राखिएको अवस्थामा थप ७ सय वटा ग्यास सिलिण्डर बरामद गरेको छ। ग्यास कालोबजारी गरेको आरोपमा वसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालकलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसअघि बिहीबार पनि प्रहरीले भक्तपुरको सूर्यविनायकबाट ७५ वटा र इटाछेबाट २८ वटा ग्यास सिलिण्डर बरामद गरेको थियो।

बढी मूल्य लिने व्यवसायीलाई जरिवाना

ग्यासको बिक्रीमा उपभोक्ताबाट अस्वाभाविक रूपमा बढी मूल्य असुल्ने तथा मिलेमतोमा बिक्री गर्ने व्यवसायीमाथि उद्योग, वाणिज्य तथा आपूर्ति विभागले पनि कारबाही थालेको छ।

शुक्रबार विभागको टोलीले कागेश्वरी मनोहरा–६ स्थित अनिल किराना पसल र ललितपुरको बालकुमारस्थित एक ग्यास पम्पलाई ३/३ लाख रुपैयाँ जरिवाना गरेको छ।

यसले ग्यासको अभाव आपूर्तिमा मात्रै नभई वितरण र बिक्री प्रणालीमा समेत समस्या रहेको हुनसक्ने देखाएको छ।

नयाँ मन्त्रीको पहिलो प्राथमिकता ग्यास

शुक्रबार नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक साहले पद तथा गोपनीयताको शपथ लिएलगत्तै ग्यास आपूर्ति सहज बनाउने विषयमा उद्योगीहरूसँग छलफल अघि बढाएका छन्।

उनले उपभोक्ताले सहज रूपमा ग्यास पाउनुपर्ने बताउँदै आपूर्ति व्यवस्थालाई व्यवस्थित बनाउन उद्योगीहरूसँग छलफल गरेका हुन्।

व्यवसायी महासंघले पनि दियो चेतावनी

प्रहरी र विभागले अनुसन्धान तथा कारबाही तीव्र बनाएपछि ग्यास बिक्रेता महासंघले पनि व्यवसायीहरूलाई उपभोक्ताबाट अनावश्यक मूल्य नलिन आग्रह गरेको छ। महासंघले विज्ञप्ति जारी गर्दै सरकारले तोकेको बिक्री मूल्यभन्दा बढीमा ग्यास बिक्री गरी अनुचित लाभ लिने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

पछिल्ला दिनमा एकपछि अर्को स्थानबाट ग्यास सिलिण्डर बरामद हुनु, व्यवसायी पक्राउ पर्नु र बढी मूल्य लिने बिक्रेतामाथि जरिवाना हुनुका कारण नेपालमा देखिएको ग्यास अभाव वास्तविक आपूर्ति संकट हो वा वितरण प्रणालीमा भएको अनियमितता तथा कालोबजारीको परिणाम हो भन्ने प्रश्न थप गम्भीर बनेको छ।