Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ग्लोबल आइएमई बैंकले व्यवस्थापनतर्फका दुई उच्च तहका अधिकारीलाई बढुवा गरेको छ। बैंकले बुद्धि अकेलालाई सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) र दीपचन्द्र रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गरेको हो।
बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले रेग्मीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो। उनी यसअघि बैंकको एसीईओ पदमा कार्यरत थिए। यस्तै, अकेलालाई एसीईओमा बढुवा गरिएको बैंकले जनाएको छ। उनी यसअघि नायब महाप्रबन्धक (डीजीएम) थिए।
बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ करिअर सुरु गरेका थिए। सन् २००६ देखि उनी ग्लोबल आइएमई बैंकमा आबद्ध छन्।
बैंकमा लामो समय काम गर्ने क्रममा उनले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन र आन्तरिक लेखापरीक्षणलगायतका विभिन्न महत्वपूर्ण विभागको जिम्मेवारी सम्हालिसकेका छन्। उनले बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) को जिम्मेवारीसमेत निर्वाह गरेका थिए।
अकेला बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन्। उनले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन्।
बैंकले अकेलाको जोखिम व्यवस्थापन, बैंकिङ सञ्चालन र व्यवसायिक क्षेत्रमा रहेको अनुभवबाट बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
डीसीईओमा बढुवा भएका दीपचन्द्र रेग्मीले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका थिए। सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध रेग्मीले यसअघि एसीईओका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।
बैंकमा कार्यरत रहँदा उनले प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखलगायतका महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।
रेग्मी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन्। उनले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) र डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) गरेका छन्।
दुवै अधिकारीको बढुवासँगै बैंकको उच्च व्यवस्थापन थप सुदृढ हुने र बैंकको व्यवसाय विस्तार, जोखिम व्यवस्थापन तथा सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
२०८३ आश्विन २१
ताजा नेपाल
२०८३ आश्विन २१
ताजा नेपाल
२०८३ आश्विन २१
ताजा नेपाल