Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका मुगुका २५ वर्षीय गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने सरकारी तयारी तत्कालका लागि स्थगित गरिएको छ। उपचारमा संलग्न चिकित्सकहरूले स्वास्थ्य अवस्था अझै अस्थिर रहेकाले अहिले स्थानान्तरण गर्नु जोखिमपूर्ण हुने निष्कर्ष निकालेपछि उनलाई वीर अस्पतालमै राखेर उपचार जारी राखिएको हो।
सुरुवाती मूल्याङ्कनपछि चिकित्सकहरूले भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा लैजान सिफारिस गरेका थिए। त्यसअनुसार सरकारले एयर एम्बुलेन्सको व्यवस्था गर्नुका साथै भारत पुगिसकेपछि अस्पतालसम्म पुर्याउने सम्पूर्ण व्यवस्थापन समेत मिलाएको थियो। गृहमन्त्री सुधन गुरुङ स्वयं उद्धार व्यवस्थापनमा सक्रिय भएका थिए भने विमानस्थलसम्मको मार्ग सहज बनाउन नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई समेत परिचालन गरिएको थियो।
तर, उपचारका क्रममा गणेश नेपालीको स्वास्थ्य अवस्था थप जटिल बनेपछि चिकित्सकहरूले तत्काल स्थानान्तरण नगर्न सुझाव दिएका छन्। हाल उनी वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत छन्। चिकित्सकहरूका अनुसार उनको रक्तचाप स्थिर राख्न विशेष औषधि प्रयोग भइरहेको छ र यस्तो अवस्थामा लामो हवाई यात्रा गराउँदा थप ज्यानको जोखिम हुन सक्छ।
चिकित्सकीय सुझावपछि सरकारले पनि भारत लैजाने योजना तत्कालका लागि रोकेको छ। स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै आवश्यक परे विदेश उपचारका लागि लैजाने तयारी पुनः अघि बढाइने जनाइएको छ। त्यसका लागि गृहमन्त्री गुरुङ र प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका प्रतिनिधिहरू वीर अस्पतालमै निरन्तर समन्वयमा रहेको स्रोतले जनाएको छ।
बिहीबार दिउँसो राहदानी विभाग परिसरमा भएको घटनापछि गम्भीर घाइते भएका गणेश नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको चिकित्सकहरूले बताएका छन्। उनलाई तत्काल वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।
हाल प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट डा. जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेषज्ञ टोली उपचारमा खटिएको छ।
सरकारले यसअघि नै गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट व्यहोर्ने निर्णय गरिसकेको छ। अहिले प्राथमिकता उनको स्वास्थ्य अवस्था स्थिर बनाउनु रहेको चिकित्सकहरूको भनाइ छ। अवस्था सुधार भएपछि मात्रै भारतको एम्स अस्पतालमा थप उपचारका लागि लैजाने विषयमा अन्तिम निर्णय गरिने जनाइएको छ।
२०८३ श्रावण ६
ताजा नेपाल
२०८३ श्रावण ६
ताजा नेपाल
२०८३ श्रावण ६
ताजा नेपाल