Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चलचित्र ‘ऐंचो पैंचो’को शीर्ष भूमिकामा वर्षा

नेपाली चलचित्र ‘ऐंचो पैंचो’ भदौको १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
कृषा चौलागाईंको डेब्यू निर्देशन रहेको चलचित्रमा शीर्षमध्येको एक पात्रको भूमिकामा छिन् अभिनेत्री वर्षा राउत । गत वर्षको कात्तिकमा प्रदर्शनमा आएको ‘लाखे’पछि नयाँ चलचित्रमा नदेखिएकी उनी ‘ऐंचो पैंचो’लाई लिएर उत्साहित छिन् ।
वर्षा आफूलाई हरेक चलचित्र आउँदा पहिलो चलचित्र रिलिज भएको जस्तो महसुस हुने जनाउँछिन् ।
‘हरेकमा फरक–फरक क्यारेक्टर निर्वाह गरिने र अपेक्षा पनि प्रायः चलचित्रलाई लिएर हुने भएका कारण पनि हरेक पटक नयाँ चलचित्र आउँदै गरेको जस्तो लाग्छ’ – ‘ऐंचो पैंचो’को प्रचारप्रसारका क्रममा भेटिएकी उनले भनिन् ‘यो चलचित्र केही ग्यापपछि रिलिज हुन लागेको भएर पनि होला, एकदमै नयाँ चलचित्र रिलिज हुँदै गरेको जस्तो भइरहेको छ ।’
यो चलचित्रलाई सामाजिक र राजनीतिक ड्रामा भनिएको छ ।
चलचित्रमा कस्तो भूमिकामा देखिएकी छिन् वर्षा ? यसबारे उनी धेरै खुलाउन चाहँदिनन् ।
‘धेरै खुलाउन त मिल्दैन । यद्यपि, रमाइलो छ मेरो क्यारेक्टर’ उनी भन्छिन् ‘मेरो क्यारेक्टरसँग इमोशनल ड्रामाहरू लिंकअप छ । चलचित्रमा चाहिने मसला म बाट हुन्छ कि जस्तो लाग्छ ।’
वर्षाले चलचित्र राम्रो बनेको विश्वास लिएको जानकारी दिएकी छन् । आफूलाई राम्रो लागेको प्रोजेक्ट अरूलाई पनि राम्रो लागिदेओस् भन्ने चाहना रहेको समेत उनले सुनाइन् ।
चलचित्रमा वर्षासँगै स्वस्तिमा खड्का, सुशील सिटौला, मुकुन भुषाल, कोसिस क्षेत्री लगायतको शीर्ष भूमिका छ । सबै कलाकारहरूसँग सहकार्य सहज भएको वर्षाले जनाईन् ।
यतिबेला उनले अन्य केही चलचित्रको स्क्रिप्टहरू समेत हेरिरहेकी छिन् । यद्यपि, साइन गरिसकेकी छैनन् ।