Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
शिक्षामन्त्री सस्मित पोखरेल सिरहाको औरही गाउँपालिकामा कार्यक्रम स्थलमा विरोध भएपछि कार्यक्रम छाडेर निस्किए ।
सुरक्षा निकायले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मन्त्रीविरुद्ध भएको घटनालाई समाजमा असन्तुष्टिको स्वर बढ्दै गएको सङ्केतको रूपमा विश्लेषण गरेको छ ।
दसैँ, तिहार र छठ पर्व सकिएपछि काठमाडौँ केन्द्रित आन्दोलन हुन सक्ने सुरक्षा विश्लेषण गरिएको छ र प्रहरी तथा सशस्त्रले गृह मन्त्रालयमा ब्रिफिङ गरेका छन् ।
काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेल मञ्चमा बोल्दै गर्दा सिरहाको औरही गाउँपालिकामा होहल्ला गरियो । गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रम स्थलमा विरोध भएपछि भदौ २७ मा मञ्चमा भाषण गर्दै गरेका मन्त्री पोखरेल कार्यक्रम छाडेर निस्किए ।
हलमा उनको विरोधमा हल्लाखल्ला भएको थियो । सो घटनाबारे पोखरेलले सार्वजनिक रूपमा भनेका छन्, ‘दुईजना व्यक्तिले हल्ला गरेपछि शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेपछि म कार्यक्रमबाट बाहिरिएँ ।
सुरक्षा निकायले सो घटनालाई सामान्य होहल्लाको रूपमा मात्रै लिएको छैन । सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीविरुद्ध भएको सो घटनापछि सुरक्षा निकायले समाजमा असन्तुष्टिको स्वर बढ्दै गएको सङ्केत को रूपमा विश्लेषण गरेको छ । २०८२ भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक समीकरणपछि असन्तुष्टि बढ्दै गएको भन्दै सुरक्षा निकायहरूले आन्दोलन हुन सक्ने विश्लेषण गरेका छन् ।
दसैँ, तिहार र छठ पर्व सकिएपछि काठमाडौँ केन्द्रित आन्दोलन हुन सक्ने सुरक्षा विश्लेषण गरिएको छ । प्रहरी र सशस्त्रले आन्दोलनको सम्भावनाबारे गृह मन्त्रालयमा ब्रिफिङ गरेका छन् ।
आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेलले गृहमन्त्री सुधन गुरुङलाई त्यसबारे जानकारी गराएका हुन् । एकजना उच्च सुरक्षा अधिकृत भन्छन्, आन्दोलनको सम्भावना रहेको मौखिक रिपोर्ट भएको छ ।
नेकपा एमालेका सचिव महेश बस्नेतले छठपछि सशक्त आन्दोलन हुने बताएका छन् । असोज ८ मा एमालेको केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले मधेससहित देशभर नै आन्दोलन हुने दाबी गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनको पहिलो मुख्य कार्यभारमा प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने आशयको वाक्यांश छ । केन्द्रीय समिति बैठकमा उपाध्यक्ष गोकर्ण विष्टले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आन्दोलन गर्न खोजिए सो कदम आत्मघाती र विनाशकारी हुने धारणा राखेका थिए ।
प्रतिनिधिसभाका विपक्षी दलहरूले आन्दोलनको चेतावनी दिनु सामान्य भए पनि सत्तारूढ रास्वपाका मानिसहरूबाट पनि त्यस्तो आवाज सुनिएको छ । जेनजीका असन्तुष्ट समूह, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र नदी किनारबाट हटाइएका सुकुमबासीहरूले सरकारविरुद्ध आवाज उठाइरहेको अवस्था छ ।
तर, आन्दोलनका लागि अहिले चाडबाड र मौसमले साथ नदिएको एकजना उच्च सुरक्षा अधिकृतले बताए । उनले भने, चाडपर्व र खेतीको सिजन सकिएपछि मङ्सिरतिर आन्दोलन हुने सम्भावना देखिन्छ ।
गएका वर्षहरूमा पनि आन्दोलन हुँदै आएको थियो । सुरक्षा अधिकृतहरू मङ्सिरभन्दा पछि काठमाडौँ केन्द्रित प्रदर्शनलाई आन्दोलनको सिजन भन्छन् ।
कात्तिक ४ मा विजयादशमी, २५ गते भाइटीका र कात्तिक २९ मा छठ पर्व छ । सुरक्षा प्रमुखहरूले गृह मन्त्रालयमा भएका औपचारिक र अनौपचारिक छलफलमा आन्दोलनको सम्भावनाबारे जानकारी गराउँदै आएका छन् । गृह मन्त्रालयका एकजना उच्च अधिकृत भन्छन्, असन्तुष्टिको स्वर बढेको र प्रदर्शन हुन सक्नेबारे सरकारलाई जानकारी छ ।
गुप्तचरको लिखित रिपोर्ट
राष्ट्रिय अनुसन्धान विभागले कात्तिक महिनापछि आन्दोलन हुन सक्ने लिखित रिपोर्ट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । प्रधानमन्त्रीको मातहत रहेको राअविका प्रमुख टेकेन्द्र कार्कीले प्रधानमन्त्रीको सचिवालय र मुख्यसचिवलाई आन्दोलनको सम्भावना औँल्याउँदै लिखित रिपोर्ट बुझाएको एकजना उच्च सुरक्षा अधिकृतले बताए ।
सम्भावित घटना विश्लेषण गरिएको रिपोर्ट विभागले प्रधानमन्त्री, गृहमन्त्री, मुख्यसचिव, गृहसचिव, राष्ट्रिय सुरक्षा परिषद् र सेनाको डीजीएमआईलाई बुझाएको छ । यसअघि पनि विभागले त्यस्तो रिपोर्ट दैनिक र साप्ताहिक रूपमा बुझाउने गरेको थियो । साप्ताहिक रूपमा सिलबन्दी रिपोर्ट राष्ट्रिय सुरक्षा परिषद्सहित १४ निकायमा पठाउने गरिएको विभागका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
राअविले हतियार उठाउने समूह र राज्य विप्लव गर्ने समूहको सूचना पनि सङ्कलन गर्दै आएको छ । राज्यविरुद्ध हुन सक्ने जासुसी,अन्तर्ध्वंस र भड्काउपूर्ण गतिविधिको सूचना सङ्कलनमा विभागका कर्मचारी र एजेन्टहरू परिचालन गरिएको हुन्छ ।
जातीय सद्भावमा खलल पार्ने, हिंसा र घृणा फैलाउने खालका गतिविधिको सूचना सङ्कलन विभागको प्राथमिकतामा पर्छ । विखण्डनकारी र भूमिगत संगठनका गतिविधि तथा सीमा सुरक्षासम्बन्धी सूचनामा विभागका अधिकृतहरूले पहुँच राख्छन् ।
गुप्तचरले आन्दोलनबारे थप सूचना पनि सङ्कलन गरिरहेको छ । २०८४ मा हुने स्थानीय निर्वाचनअघि पुराना दलहरूले असन्तुष्टिलाई समेटेर सरकारविरोधी हतियार बनाउन सक्ने पनि आकलन गरिएको छ ।
२०८३ आश्विन १४
ताजा नेपाल
२०८३ आश्विन १४
ताजा नेपाल
२०८३ आश्विन १४
ताजा नेपाल