Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा आज देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिको घटनाक्रमको विरोध गर्दै आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले सोमबार जारी गरेको विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दमनको विरोधस्वरूप साउन १२ गते देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सबै सेवा स्थगित गरिएको जनाएको छ। साथै, आन्दोलनका आगामी कार्यक्रम तय गर्न बुधबार सर्वपक्षीय भेला बोलाइएको पनि संघले उल्लेख गरेको छ।

संघका अनुसार साउन ९ गते वीरगन्जको नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडमा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा थप विवाद उत्पन्न भएको थियो।

विज्ञप्तिअनुसार प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज, दुर्व्यवहार र बल प्रयोग गरिएको आरोप लगाइएको छ। उक्त घटनामा डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको संघले जनाएको छ।

नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) अनुसार चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै, चिकित्सकमाथि दुर्व्यवहार भएको घटनामा संलग्न रहेको आरोप लगाउँदै पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि कारबाहीको माग गरिएको छ।

संघले आकस्मिकबाहेकका सेवा बन्द हुँदा बिरामीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै त्यसको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने जिकिर गरेको छ।