Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चितवनका सरकारी वकिलको सरुवा

चितवन । सहारा सहकारीको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भए लगत्तै चितवनका जिल्ला न्यायाधीवक्ताको सरुवा भएको छ । हिजो लामिछानेसहित २० जनालाई ठगी र १२ जनालाई संगठित अपराधमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । उक्त मुद्दामा प्रहरी प्रतिवेदनले लामिछानेलाई संगठित अपराध र ठगी दुवै मुद्दा लगाउन सुझाव दिएको थियो । तर, जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले लामिछाने एउटा मात्रै संस्थामा आबद्ध देखिएकोले कानुनले व्याख्या गरेको संगठित अपराधको परिभाषाभित्र उनको अपराध नदेखिने निक्र्यौल गरी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको थियो । यद्यपि लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कमा आबद्ध तीन जना भने गोर्खा मिडिया बाहेक अन्य संस्थामा पनि आबद्ध रहेको देखिएकोले उनीहरूलाई संगठित अपराधमा मुद्दा दर्ता गरिएको थियो । संगठित अपराधमा नै मुद्दा दर्ता गर्न दबाब थियो, जिल्ला सरकारी वकिल कार्यालय स्रोतले भन्यो, कानूनको परिभाषाले नै नभेट्ने अपराधमा अभियोग लगाउन उहाँले सक्नुभएन त्यसैले हिजै सरुवाको पत्र आयो । लुइँटेलले मुद्दा दर्ता भएको केही बेरमा नै महान्यायाधीवक्ताको आदेशमा काठमाडौँ तानिएको बुझिएको छ । उनलाई महान्यायाधीवक्ताको कार्यालयमा तान्नेगरि सरुवा गरिएको पत्र हिजै पठाइएको बुझिएको छ । सरुवाको पत्र प्राप्त भए लगत्तै रवि लामिछानेसहितको ठगी तथा संगठित अपराधको मुद्दामा उनले बहस नगर्ने भएका छन् । स्रोतका अनुसार आज बिहानै जिल्ला न्यायाधीवक्ता लुइँटेलले चितवन छोडिसकेका छन् । लुइँटेल काठमाडौँ तानिए लगत्तै आजै चितवनमा उच्च सरकारी वकिल कार्यालय बुटवलका उप न्यायाधीवक्ता रवि न्यौपाने हाजिर हुने भएका छन् । उनलाई बुटवलबाट चितवन पठाउने हिजै निर्णय गरिएको बुझिएको छ ।