Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चित्रबहादुरले भने छिमेकी पनि मैविरुद्ध खनिए

काठमाडौं । चुनाव नजिकिँदै गर्दा कसलाई जिताउने र कसलाई हराउने भन्ने देशी विदेशी चलखेल हुने गरेका घटना नौलो होइन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले छिमेकी देशबाट समेत आफूलाई हराउने खेल भएको बताएका छन् । नेपालबाट धर्म निरपेक्षता र गणतन्त्र हटाउने अभियानलाई समर्थन गराउन खोज्नेबाट आफूप्रति हराउने खेल भएको दाबी गरे । आइतबार बागलुङ बजारमा आयोजित चुनावी कार्यक्रममा केसीले धर्म निरपेक्षता र गणतन्त्र बचाउन गठबन्धन र आफ्नो उम्मेदवारी चाहिएको बताए । नेपाललाई हिन्दु राष्ट्र बनाउने र राजा फर्काउने अभियानमा लागेकाले सच्चा गणतन्त्रवादी र अग्रगमनका पक्षधरलाई हराउने खेल खेल्नसक्ने समेत उनले टिप्पणी गरे । उनले सामन्त गोयल आएर तीन घण्टा वार्ता गरेपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएको टिप्पणीसमेत गरे । गोयलको कुरा सुनेर ओलीले संसद् विघटन गर्ने निर्णयमा राष्ट्रपति सामेल बन्नु देशको दुर्भाग्य भएको भन्दै ओलीको आलोचना गरे ।
केसीले गठबन्धन जीवन मरणको सवाल भएको भन्दै संसद्‌बाट हिटलर जन्मन नदिन जनतालाई आग्रह गरे । ओलीको पुनर्उदयले हिटलर जन्माउने भन्दै अधिनायकवादविरुद्ध फेरि लड्नुपर्ने बेला आएको उनले बताए । आसन्न चुनावमा कुन दलले जित्ने हार्ने भन्दा पनि राष्ट्रियता जोगाउन यो अन्तिम लडाइँका लागि मतदान गर्ने अवसर भएकोसमेत उनले बताए । केसी बागलुङ क्षेत्र नं १ का उम्मेदवार हुन् । उनी कांग्रेस, माओवादी र नेकपा एसको समर्थनमा उम्मेदवार बनेका हुन् । यहाँ एमालेका सूर्य पाठक उमेदवार छन् । यसअघि पाठकलाई सघाएका केसीले यो पटक एमालेबाट टाढिएर कांग्रेस सहितको गठबन्धनको उम्मेदवार बनेका हुन् ।