Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चिनियाँ सैनिक भारतीय सेनाको कब्जामा

नयाँदिल्ली । नेपालका दुइ विशाल छिमेकी चीन र भारतको सीमा विवाद अझै समाधान हुन सकेको छैन । विवादकै कारण चिसिएको सम्बन्धका कारण बेला बखत सीमानामा झडप हुँदा दुवै मुलुकका सैनिकहरुले ज्यान पनि गुमाइरहेका छन् । भारतीय सेनाले पूर्वी लद्दाखस्थित सीमा क्षेत्रबाट एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको जनाएको छ । भारतीय सेनाले लद्दाखको डेमचोकस्थित भारतीय क्षेत्रमा प्रवेश गरेपछि चिनियाँ सैनिकलाई नियन्त्रणमा लिइएको जनाएको छ । भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै उनलाई चिनियाँ सेनाको जिम्मा लगाइने जनाएको छ ।

चिनियाँ सेनाका कर्पोरल वाङ या लङलाई एलएसी पार गरेको अवस्थामा अक्टोबर १९ मा नियन्त्रणमा लिइएको छ, विज्ञप्तिमा भनिएको छ, चिनियाँ सेनाले उनको अवस्थाबारे खोजी गरेको छ । स्थापित मान्यताअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि उनलाई चिनियाँ जनमुक्ति सेनासमक्ष हस्तान्तरण गरिनेछ । चिनियाँ सैनिकलाई मेडिकल सुविधा, अक्सिजन, खाना तथा अन्य सुविधा उपलब्ध गराइएको पनि भारतीय सेनाले जनाएको छ । लद्दाखस्थित सीमा क्षेत्रमा भारत र चीनबीच पाँच महिनादेखि तनाव जारी छ ।

हाल भारत र चीन दुवै देशले विवादास्पद हिमाली सीमा क्षेत्रमा ५० हजारभन्दा बढी सैनिक खटाएका छन् । सीमा विवादका कारण भारत र चीनबीच लामो समयदेखि तनाव जारी छ । दुई देशीय सीमा क्षेत्रमा करिब डेढ महिनाअघि गोली हानाहान पनि भएको थियो । सीमा क्षेत्रमा गोली चलेको यो चार दशकभन्दा लामो समयपछि पहिलो पटक हो । दुई देशबीच सन् १९६२ मा सीमा विवादका कारण युद्ध भएको थियो । उक्त युद्धमा भारत नराम्ररी पराजित भएको थियो । चीनले आफ्नो ३८ हजार वर्गकिलोमिटर क्षेत्र भारतले ओगटेको आरोप लगाउँदै आएको छ ।

त्यसका लागि हजारौं चिनियाँ सैनिक परिचालन गरिएको भारतको दाबी छ । सीमा समस्या समाधान गर्न दुवै पक्षले तीन दशकमा दर्जनौं पटक वार्ता गरिसकेका छन् । तर पनि ठोस उपलब्धि भने हुन सकेको छैन । तनाव चुलिँदै गएपछि भारतले विभिन्न चिनियाँ कम्पनीले भारतको निर्माण क्षेत्रमा पाएको ठेक्का सम्झौतासमेत रद्द गरिदिएको छ । त्यसका साथै भारतले करिब १ सय २० वटा विभिन्न चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाइसकेको छ । यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र चीन सीमास्थित एलएसी (वास्तविक नियन्त्रण रेखा) मा शान्ति र स्थिरता ‘नराम्ररी बिथोलिएको’ जनाएका थिए । जसका कारण दुई देशबीचको सम्बन्धमा असर पुगेको जयशंकरको भनाइ छ ।

जयशंकरले शनिबार आफ्नो पुस्तक ‘द इन्डिया वे : स्ट्राटेजिज फर अन अन्सर्टेन वर्ल्ड’ बारे छलफल गर्न आयोजित सेमिनारमा त्यस्तो धारणा व्यक्त गरेका हुन् । दुई देशको सम्बन्धमा सुरुदेखि नै धेरै समस्या रहेको भए पनि सन् १९८० पछि व्यापार, पर्यटन र विभिन्न सामाजिक गतिविधिका कारण केही सामान्य भएको जयशंकरले बताए ।