Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको चुनदेवीस्थित अस्थायी निवासमा पछिल्लो समय राजनीतिक भेटघाट बाक्लिएको छ। लामो समयसम्म सुनसानजस्तै रहेको निवासमा देउवा स्वदेश फर्किएसँगै कांग्रेस नेता–कार्यकर्ता तथा शुभेच्छुकको आवतजावत बढेको हो।
महाराजगन्जस्थित अमेरिकी दूतावास र निर्मल निवासको बीचमा रहेको चुनदेवीको एकतले घरलाई देउवाले अस्थायी निवासका रूपमा प्रयोग गर्दै आएका छन्। गत वर्ष भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित उनको निवासमा आगजनी भएपछि उनी गत असोजमा चुनदेवी सरेका थिए।
आन्दोलनमा निवासमै आक्रमण भएपछि उपचार गराएका देउवाले चुनदेवीबाटै राजनीतिक भेटघाटलाई निरन्तरता दिएका थिए। गत असोज २८ गते पार्टी सभापतिको जिम्मेवारीबाट अलग हुँदै तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए पनि चुनदेवीमा उनको राजनीतिक सक्रियता भने कायमै थियो।
यसबीच कांग्रेसमा नियमित र विशेष महाधिवेशनलाई लिएर विवाद चर्कियो। गत पुस २७ देखि ३१ गतेसम्म तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन सम्पन्न भयो। विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा देउवाको करिब एक दशक लामो पार्टी नेतृत्व समाप्त भयो।
गत फागुन २१ गतेको निर्वाचनपछि देउवा पार्टीभित्र राजनीतिक रूपमा थप कमजोर अवस्थामा पुगे। त्यसपछि उनी उपचारका लागि सिंगापुर हुँदै हङकङमा लामो समय बसे। साउन २८ गते स्वदेश फर्किएपछि भने चुनदेवीमा पुनः राजनीतिक भेटघाट र कार्यकर्ताको चहलपहल बढेको छ।
आइतबार बिहानैदेखि देउवालाई भेट्न कांग्रेसका नेता तथा कार्यकर्ता चुनदेवी पुगेका थिए। उनीहरूमध्ये देउवाका विगतका कट्टर आलोचक मानिने डडेल्धुराका पूर्वजिल्ला सभापति कर्णबहादुर मल्लसमेत थिए।
२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस (बीपी)बाट देउवाविरुद्ध चुनाव लडेका मल्ल पछिल्लो समय कांग्रेसमा फर्किएका छन्। देउवासँग करिब छ वर्षपछि भएको भेटमा स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै पार्टी एकताको विषयमा पनि छलफल भएको बताइएको छ।
मल्लसँगको भेटमा देउवाले आफू पार्टी एकताका लागि गम्भीर रहेको बताएका थिए। सर्वोच्च अदालतबाट आउने अन्तिम निर्णयलाई सबैले स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो।
मल्लसँग करिब १५ मिनेट कुराकानी गरेपछि देउवाले अन्य नेता–कार्यकर्तासँग पनि भेटघाट गरेका थिए।
देउवाका स्वकीय सचिव भानु देउवा भेटघाट व्यवस्थापनमा व्यस्त देखिन्थे। आइतबार मात्रै करिब चार–पाँच सय नेता तथा कार्यकर्ताले देउवासँग भेट गरेको बताइएको छ। निवर्तमान केन्द्रीय सदस्यहरू, विभिन्न जिल्लाका सभापति तथा कांग्रेसका भ्रातृ संगठनका पूर्वपदाधिकारीहरू पनि देउवालाई भेट्न पुगेका थिए।
भेट्न आउने अधिकांशको चासो पार्टीभित्रको पछिल्लो विवाद र देउवाको स्वास्थ्य अवस्थामै केन्द्रित थियो। उनीहरूलाई देउवाले प्रायः एउटै जवाफ दिने गरेका थिए— ‘अदालतबाट न्याय पाउँछौँ, अदालतको निर्णय पर्खौं।’
भदौ ४ गते सभापति गगन थापासँग भेट गरेका नेता नैनसिंह महरले आइतबार देउवालाई भेटेर पार्टी एकताका लागि पहल गर्न आग्रह गरेका थिए। जवाफमा देउवाले थापासँग संवाद गर्न आफू तयार रहेको बताएका थिए।
तर, त्यसअघि सर्वोच्च अदालतको निर्णय आउनुपर्ने उनको धारणा थियो।
देउवाले कार्यकर्तासँगको भेटमा विशेष महाधिवेशनमार्फत आफूलाई अन्याय गरिएको गुनासोसमेत गर्दै आएका छन्। उनका अनुसार आफू नियमित महाधिवेशनको पक्षमा रहँदै सभापतिको जिम्मेवारीबाट अलग भए पनि थापा र शर्माले नियमित महाधिवेशन गर्न नसकेपछि विशेष महाधिवेशनको बाटो रोजेका थिए।
देउवाले आफूले पार्टी विभाजन गर्न नभई मिलाउन सधैँ प्रयास गरेको दाबी गर्दै अदालतको निर्णयपछि पार्टीभित्र संवाद र सहमतिको प्रक्रिया अघि बढाउने बताउने गरेका छन्।
उनको भनाइ छ, ‘पार्टी मिलाउने हो, मिलाउने हो। मैले कहिले नमिलाउने भनेको छु र? अदालतको निर्णय पर्खौँ, त्यसपछि सबैसँग संवाद गर्छु।’
देउवा पक्षले आगामी असोज १६ देखि १९ गतेसम्मका लागि तय गरिएको नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेको छ।
देउवाका स्वकीय सचिव भानु देउवाले सोमबार रिट लिएर सर्वोच्च जाने तयारी भइरहेको जानकारी नेता–कार्यकर्तालाई दिएका थिए। प्रधानन्यायाधीश र प्रमुख रजिस्ट्रार काठमाडौं बाहिर रहेकाले केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले रिट फिर्ता ल्याइएको उनको भनाइ थियो।
उनले रिट दर्ता नभएको नभई आवश्यक प्रक्रिया पूरा गरेर पुनः दर्ताका लागि लैजान लागिएको स्पष्ट पारेका थिए।
देउवा पक्षले पार्टीको वैधानिकता र कार्यसमिति सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउन नहुने तर्क गर्दै आएको छ।
देउवालाई भेट्न पुगेका कतिपय कांग्रेस नेता–कार्यकर्ता सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउनेमा आशावादी देखिएका छन्।
मुगु कांग्रेसका सभापति ऐनबहादुर शाहले अदालतबाट निस्सा प्राप्त भइसकेकाले मुद्दामा आफ्नो पक्षको जित हुने सम्भावना उच्च रहेको दाबी गरे। उनका अनुसार देउवासमेत अदालतबाट न्याय पाउनेमा विश्वस्त छन्।
देउवा निवासमा पुगेका युवा नेताहरूले आफूहरू साथमा रहेको बताउँदा देउवाले सामान्य रूपमा सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ।
कार्यकर्ता तथा शुभेच्छुकसँगको भेटपछि देउवा आइतबार कांग्रेस संस्थापन इतर पक्षको सम्पर्क कार्यालयमा समेत पुगेका थिए। आदिवासी जनजाति महासंघले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्।
देउवा निवास र संस्थापन इतर पक्षको सम्पर्क कार्यालयबीच करिब सय मिटरको दूरी छ।
लामो समय राजनीतिक रूपमा निष्क्रियजस्तो देखिएका देउवा स्वदेश फर्किएपछि भने चुनदेवी फेरि कांग्रेसको राजनीतिक गतिविधिको एउटा केन्द्रजस्तो देखिन थालेको छ। अहिले उनीसँग भेट्न पुग्ने कार्यकर्ताको प्राथमिकता विगतमा जस्तो व्यक्तिगत काम, सरुवा–बढुवा वा सहयोगको माग नभई पार्टी विवादको समाधान र देउवाको स्वास्थ्य अवस्थाबारे चासोमा सीमित देखिएको छ।
देउवा पक्ष भने सर्वोच्च अदालतको निर्णयपछि कांग्रेसभित्र नयाँ राजनीतिक समीकरण बन्ने र पार्टी एकताको प्रक्रिया अघि बढ्ने अपेक्षामा देखिन्छ।
२०८३ भाद्र ८
ताजा नेपाल
२०८३ भाद्र ८
ताजा नेपाल
२०८३ भाद्र ८
ताजा नेपाल