Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चुनावी सहकार्यका लागि रास्वपा तयार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चितवनको सौराहमा जारी पार्टीको विस्तारित बैठकमा आगामी चुनावका लागि अन्य राजनीतिक दल र संगठनहरूसँग चुनावी गठबन्धन गर्न सकिने प्रस्ताव अघि सारेको छ। कार्यवहाक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेस गर्दै आगामी चुनावमा रास्वपाको मौलिक पहिचान नगुम्ने गरी अन्य दलसँग गठबन्धन गर्न सकिने प्रस्ताव अघि सारेका हुन्। नयाँ र आधारभूत सैद्धान्तिक सवालमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह, राजनीतिक पार्टीसँग निर्वाचनमा र निर्वाचनपछि सरकार गठनमा सहकार्य तथा गठबन्धन गर्न सकिने उनको भनाइ छ। तर, गठबन्धनका नाममा रास्वपाको पहिचानमा छायाँ पार्न नहुने उनको तर्क छ। प्रतिस्पर्धी दलहरूको आलोचना मात्र नगरी, आफ्ना नीति, कार्यक्रम र दृष्टिकोणलाई सकारात्मक तरिकाले प्रस्तुत गर्नुपर्छ, उनको प्रतिवेदनमा भनिएको छ, चुनावमा गठबन्धन गर्ने कि एक्लै लड्ने भन्नेबारे स्पष्ट रणनीति बनाउनुपर्छ। यसका फाइदा र बेफाइदाको गहिरो विश्लेषण आवश्यक हुन्छ। कहिलेकाहीँ गठबन्धनले पार्टीको मौलिक पहिचान गुम्ने खतरा पनि रहन्छ। यस्तै रास्वपाले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई पुराना दलको शासकीय अनैतिकता तथा अक्षमताको परिणाम भएको टिप्पणी गरेको छ। अर्यालले जेनजी आन्दोलन अप्रत्याशित र आश्चर्यजनक नरहेको बताउँदै आफूहरूलाई ढिलो चाँडो यस्तो हुन्छ भन्ने कुरामा पहिलादेखि नै शंका रहेको दाबी गरे। रास्वपाका नेताहरूले परिस्थितिका बारेमा निरन्तर सचेत गराउँदै आउँदा पनि संसदीय अंकगणितको बलमा शासकीय अहंकार, दम्भ र अर्कमण्यता बढ्दै जाँदा नागरिकमा चुलिँदै गएको आक्रोश विस्फोट भएको प्रतिवेदनमा उल्लेख छ। उपसभापति अर्यालले कांग्रेस, एमाले र माओवादीले सत्तालाई ‘म्युजिकल चियर’ बनाएर लोकतन्त्रको आवरणमा दलतन्त्र लादेपछि जेनजी आन्दोलन भएको प्रतिवेदनमा उल्लेख गरेका छन्। यस्तो अवस्थामा रास्वपाले जनतासँगको संवादमा पारदर्शिता कायम गर्नुपर्ने उनले बताएका छन्। ‘पार्टीका हरेक गतिविधि र निर्णयबारे जनतालाई सुसूचित गर्नुपर्छ। अब ‘आलोचना होइन, योजना’ भन्ने नाराका साथ अभियान सञ्चालन गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ। मूलधारका मिडिया र सामाजिक सञ्जाल दुवैमा पार्टीको उपस्थितिलाई सशक्त बनाउनुपर्ने उनको धारणा छ। विगतका कमीकमजोरीबाट पाठ सिक्दै आफ्नो शक्ति र कमजोरीको यथार्थपरक विश्लेषण गरी राजनीतिक, सामाजिक, आर्थिक र प्राविधिक पक्षका सानाभन्दा साना विषयलाई ध्यानमा राखेर चुनावी तयारी गर्नुपर्ने उनको प्रस्ताव छ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल