Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चुनाव गराउन हतारिए देउवा, मंसिर पहिलो साता नकटाउने

काठमाडौं। सत्ता परिवर्तन र वाम गठबन्धनको हल्ला चल्न थालेपछि काँग्रेस सभापति देउवा जतिसक्दो छिटो संघ र प्रदेशको निर्वाचन गराउने पक्षमा देखिन थालेका छन् । स्थानीय निर्वाचनको परिणामले हौसिएका प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल संसदको चुनाव घोषणा गर्न हतारिन थालेका छन्। उनले यसबारे गठबन्धन दलका नेताहरुसँग कुरा गरिसकेका छन्। गठबन्धनका दलका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तत्कालका लागि चुनाव घोषणा गर्न हतार नगर्न दवाब दिइरहेका बेला देउवाले भने हतारो देखाएका छन्। सभामुख अग्नि सापकोटालाई हिजो भेट्न बोलाई प्रधानमन्त्री देउवाले संसदमा प्रस्तुत गरिसकेको बजेटलाई छिटो पास गराउन आग्रह गरेका थिए। उनले बजेटपछि चुनाव घोषणा गर्ने तयारीमा आफू रहेकाले बजेटबारेको छलफल नलब्याउन उनले भनेका थिए।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तत्काल आम चुनावको घोषणाको पक्षमा नरहेको, कात्तिक मंसीरमा निर्वाचन होइन कि त्यसको ६ महिनापछिमात्र चुनाव गर्नुपर्ने पक्षमा रहेकाले सभामुख सापकोटाले संसदलाई अल्मल्याई बजेट पारितको प्रक्रिया लम्ब्याउने पो हुन कि भन्ने आशंका देउवालाई छ। त्यसैले उनले प्रधानमन्त्रीको हैसियतले सभामुखलाई बोलाई आफ्नो निर्वाचन घोषणा गर्ने मनसाय रहेकोले संसद बैठक नलम्ब्याउन आग्रह गरेका थिए।
त्यसो त प्रधानमन्त्री देउवाले गृहमन्त्री वालकृष्ण खांडलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग भेट्न पठाई कात्तिक र मंसीरमा दुई चरणको निर्वाचन गर्ने बारे आवश्यक पर्छ भने पार्टीमा छलफल गराउन भनेका छन्। संसदमा भएको नागरिकता विधेयकबारे चाडो निर्णय गर्न पनि देउवाले प्रचण्डलाई सन्देश पठाएका हुन्। यही संसदबाट नागरिकता विधेयक पारित गर्ने हो भने चाडो गरौं नत्र अर्को संसदले गर्ने भनेर भनौं यसमा स्पष्ट धारणा बनाउनु पर्यो भन्ने देउवाको प्रस्ताव रहेको प्रचण्ड निकट स्रोतले बतायो।
देउवाले कांग्रेसको शीर्ष नेतृत्व समूहमा आगामी कात्तिक २७ गते र मंसीर ३ गते गरी दुई चरणमा आम निर्वाचन सम्पन्न गर्ने गरी मितिको प्रस्ताव गरेका छन्। मन्त्रिपरिषद्मा पनि यसबारे छलफल गराउने र निर्वाचन आयोगलाई यिनै दुई मिति प्रस्ताव गर्न सुझाव पठाउने तयारीमा छन् देउवा। उनले आज साँझ ५ बजेका लागि बोलाएको मन्त्रिपरिषद्को बैठक अकस्मात सारेर आज विहानलाई बोलाएपछि कतिपय मन्त्रीहरु निर्वाचनको मितिबारे प्रधानमन्त्रीले छलफल गराउन खोजेको आशंका गरेका छन्। तर, यो प्रस्ताव आजै गर्छन् कि गर्दैनन् भन्ने स्पष्ट भइसकेको छैन। माधव नेपाल र प्रचण्डको विमति हुंदा हुंदै देउवालाई तत्काल चुनाव घोषणाका लागि उक्साउने तत्व के हो ? भन्ने स्पष्ट भइसकेको छैन। तर, गठबन्धनलाई पनि यथावत राखेर उनी आगामी चुनावमा जान चाहान्छन् । नेता नेपाल र प्रचण्डको दवाव बढे चुनाव घोषणाबाट देउवा पछि सर्ने हुन् कि भन्ने आशंका पनि यथावत छ।
प्रधानमन्त्री देउवाले निर्वाचनको घोषणा गरेसँगै मन्त्रिपरिषद् पनि फेरवदल गर्न चाहेका थिए तर नेकपा एकीकृत समाजवादी पार्टीभित्र समस्या भई मन्त्रीहरु फेर्नुपर्ने अवस्था आएपछि उनको सो योजना पूरा हुन सकेन। बालुवाटार स्रोतका अनुसार, उनले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई केही समय कुर्न भनेका पनि थिए। तर, आफ्नो पार्टीमा समस्या आएको भन्दै नेता नेपालले तत्काल नै आफ्नातर्फका मन्त्रीहरु फेरिदिन भनेका छन्। कांग्रेसका तर्फबाट मन्त्रालय परिवर्तनमा पर्नेमध्येका एक संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अफ्रिकातिर हिँडेकाले उनी आएलगत्तै मन्त्रिमण्डल पुनर्गठन गर्ने देउवाको योजनामा माधव नेपालको दवावले पूरा हुन दिएन।
स्रोतका अनुसार, प्रधामन्त्री देउवा संचारमन्त्रीमा पुष्पा भुसाललाई ल्याउन चाहान्छन् भने अर्थमन्त्रीमा ज्ञानेन्द्र कार्कीलाई लैजान चाहान्छन्। जनार्दन शर्मालाई हटाएवापत माओवादी केन्द्रलाई उपप्रधानमन्त्री पद दिने र प्रचण्डले सिफारिस गरे नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री बनाउने चाहना देउवाले राखेका छन्।