Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छविलाल पनि धरौटीमा रिहा भए

रुपन्देही । रास्वपा सभापति रवि लामिछानेसँगै बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशी बन्जाडे धरौटीमा रिहा भएका छन् । गत बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट रवि लामिछानेलाई बिगो वापत जमानत लिएर रिहा गर्न आदेश दिँदा जोशीको हकमा निवेदन दिएपछि मात्रै पुनःविचार गर्न सकिने आदेशमा उल्लेख गरिएको थियो । आदेशमा रविले पहिले नै बिगो वापतको रकम बुझाउन तयार भएको भए पनि छविको विषयमा त्यो प्रष्ट नभएकाले सक्कल जमानतसहित निवेदन दिएमा पुनःविचार गर्न आदेश दिएकाले उनको पक्षबाट शुक्रबार नै निवेदन दिइएर आइतबार रिहा भएका हुन् । रुपन्देही जिल्ला अदालतले सोही आदेशको आधारमा जोशीले एकमुष्ट तीन करोड बैंक जमानत बुझाएपछि आइतबार रिहा गरिएको जनाएको छ । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले उच्चको आदेशअनुसार छविलालले शुक्रबार निवेदन दिएको र आइतबारको इजलासले जमानत बुझाएर छाड्ने आदेश दिएसँगै बैंक ग्यारेन्टी बुझाएर रिहा भएको नेपाल प्रेसलाई जानकारी दिए । छविलाललाई थुनामा राख्ने आदेश दिएको बेला रवि लामिछानेलाई भने एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, उच्च अदालतले रविलाई थुनामा पठाउने आदेश गर्दै जोशीलाई पनि थुनामै राख्ने आदेश सदर गरेको थियो । सर्वोच्चले पनि थुनामा राख्ने आदेश नै सदर गरेको थियो । त्यसपछि दुवै जनाले बिगोबापत धरौटी राखेर रिहा गर्न माग गर्दै निवेदन दिएका थिए । जिल्ला अदालतले यसरी रिहा गर्न नमिल्ने आदेश गरेको थियो । तर जिल्लाको आदेश बदर गर्दै उच्चले दुवै जनालाई थुनामुक्त भएर मुद्दा लड्ने बाटो खोलिदिएको हो । लामिछानेले ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएका थिए । त्यसमध्ये एक करोड पहिल्यै बुझाएका थिए । गतवर्षको माघ २८ गते रुपन्देही जिल्ला अदालतले छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा जोशीलाई थुनछेक बहसपछि न्यायाधीश वसिष्ठकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी अहिलेसम्म थुनामा रहेका थिए । त्यसयता उनी उच्च र सर्वोच्च पुनरावेदनमा गए पनि जिल्लाकै आदेशलाई सदर गरिएपछि थुनामै रहेका थिए ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल