Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छानविन आयोगसँग किन रुष्ट भयो प्रहरी

काठमाडौं । भदौ २३ र २५ गतेको आन्दोलनका घटना छानबिन गर्न गठित आयोग र नेपाल प्रहरीबीचको खटपट उत्कर्षमा पुगेको छ। आयोग प्रहरीले असहयोग गरेको भन्दै स्पष्टीकरण माग्ने तहमा पुग्दा प्रहरी पनि आयोगको कार्यशैलीप्रति रुष्ट छ। जाँचबुझ आयोगले असहयोग गरेको आरोप लगाउँदै प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो। खापुङले त्यसको जवाफ पठाइसकेका छन्। जवाफमा आईजीपी खापुङले प्रहरीले आयोगको काममा सुरुदेखि नै सहयोग गरेको र अब पनि प्रहरीबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाएका छन्। आयोगलाई प्रहरीले नै आवश्यक जनशक्ति सुरुबाटै पठाएको थियो। सोही जनशक्तिको बलमा आयोग काम गरिरहेको छ। तर आयोगका प्रवक्ता समेत रहेका पूर्वएआईजी विज्ञानराज शर्माले प्रहरीले आयोगलाई असहयोग गरेको आरोप लगाए। आयोगले माग गरेका विवरण प्रहरीले उपलब्ध नगराएर असहयोग गरेको शर्माको भनाइ छ। आईजीपी खापुङले भने विवरण उपलब्ध गराउन नचाहेको भन्दा पनि कतिपय विवरण संकलन गर्न समय लागेको जवाफ दिएका छन्। खासगरी जेनजी आन्दोलनमा खटिएका कमान्डरहरूसँग बयान सुरु गर्ने प्रक्रिया अगाडि बढेसँगै प्रहरी र आयोगबीच खटपट भएको हो। आयोगले सुरुमा जेनजी आन्दोलनमा भदौ २३ र २४ गते फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूको विवरण माग गरेको थियो। जसको जवाफमा प्रहरीले ती दुई दिन प्रहरी महानिरीक्षकदेखि जवानसम्म सबै कर्मचारी ड्युटीमा रहेको गोलमटोल जवाफ दिएका थिए। सुरुमा भदौ २३ र २४ गते काठमाडौँ उपत्यकामा खटिएका जनशक्तिको विवरण माग गरेको आयोगले दोस्रो पत्रमा भने माइतीघरदेखि नयाँ बानेश्वरसम्म खटिएका प्रहरीका मुख्यमुख्य कमान्डरको विवरण माग गरेको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालयले सोही अनुसारको विवरण पठाउन उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो। यस्तै जेनजी आन्दोलनमा काठमाडौँ उपत्यकाका मुख्यमुख्य ठाउँमा खटिएका कमान्डरहरूलाई काठमाडौँ उपत्यका नछाड्न पनि पत्रमा निर्देशन गरेको थियो। तर आयोगले यसपटक पनि विवरण पठाउन ढिला गरेको भन्दै आईजीपी खापुङलाई २४ घण्टे स्पष्टीकरण नै सोधेको हो। आयोगका अध्यक्ष गौरीबहादुर कार्की पूर्वन्यायाधीश हुन् भने सदस्य विज्ञानराज शर्मा नेपाल प्रहरीकै पूर्वएआईजी हुन्। उनीहरूले बुधबार खापुङले असहयोग गरेको भन्दै स्पष्टीकरण सोधे। यसपछि प्रहरी आयोगसँग थप असन्तुष्ट बनेको छ। प्रहरीले आयोगलाई माग गरे अनुसारका प्रहरी कमान्डरहरूको विवरण भने उपलब्ध गराइसकेको छ। आयोगले अब प्रहरी कर्मचारीलाई बोलाएर बयान गराउने आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए। तर प्रहरी भने आयोग प्रहरी केन्द्रित बनेर काम गरिरहेको र यसअघि आयोगका अध्यक्ष कार्की र प्रवक्ता शर्माले त्यसै अनुसारको अभिव्यक्ति सार्वजनिक रूपमा दिइरहेको निष्कर्षमा पुगेका छन्। यो सबै अवस्था प्रहरीकै कारणले आएको जसरी काम भइरहेको भन्दै प्रहरीले असन्तुष्टि जनाएको छ। प्रहरी अधिकारीहरू जाँचबुझ आयोगले विद्रोहको वातावरण कसरी बन्यो, तयारी कसरी भयो भनेर अध्ययन गर्नेतिर भन्दा प्रहरीलाई पत्र पठाउँदै मिडियाबाजी गर्दैै बसिरहेको भन्दै असन्तुष्टि जनाउँछन्। आयोगका पछिल्ला गतिविधिको असर निर्वाचनमा पर्नेतर्फ पनि प्रहरीले संकेत गरेको छ। एकातिर सरकार निर्वाचनको मिति घोषणा गरेर शान्ति सुरक्षाको लागि काम गरिरहेको बताउने र अर्कोतर्फ जाँचबुझ आयोग प्रहरीको सूची मागेर बयानमा बोलाउनुले सुरक्षाको वातावरण नबन्ने प्रहरीको भनाइ छ। अहिलेको अवस्थामा प्रहरीमाथि छानबिन र कारबाहीभन्दा पनि नीतिगत स्पष्टता आवश्यक रहेको प्रहरीको भनाइ छ। आयोग र प्रहरीबीच सामान्य मतभेद भने सुरुबाटै देखिएको हो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरीले यी दुई निकायमा खटपट ल्याइदिएको थियो। जेनजीको एउटा समूहका अगुवा सुदन गुरुङले उनीहरूलाई तत्काल कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए। तर प्रहरीले जेनजी आन्दोलनका घटनाको सम्बन्धमा जाँचबुझ आयोगले काम गरिरहेकाले आयोगको प्रतिवेदनपछि मात्रै कारबाहीबारे निक्र्यौलमा पुग्न सकिने जवाफ दिएको थियो।
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको दबाबपछि पनि प्रहरी तत्काल कारबाही गर्न नमिल्ने अडानमा रह्यो। त्यसपछि ती जाहेरी जाँचबुझ आयोगमै पठाइदियो।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल