Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । सिरियल किलर चाल्र्स सोभराजले त्यसै भनेका होइनन् नि नेपालको भन्सारबाट हात्ति छिर्छ भनेर । श्रमिकले ल्याएका एक थान मोबाइल पत्ता लगाउने भन्सारमा किलोका किलो सुन पत्तो लाग्दैन । हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्याइएको करिब एक क्विन्टल सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो भने भन्सारका अधिकारीहरूमाथि प्रश्न उठेको छ । मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको थियो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना रहेको अधिकारीहरूको भनाइ छ । यसअघि ०७४ भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ केजी सुनसहित काठमाडौंको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन बरामद भएको र केही व्यक्ति पक्राउ परेको पुष्टि गरे । भन्सार कार्यालयले निर्वाध रूपमा सुन पास गरिदिएको थियो । बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको ‘रेडी ट्रेडर्स प्रालि’का नाममा विमानस्थल भन्सारले जाँचपास हुन लागेको सामान शंकास्पद रहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोली विमानस्थल पुगेको थियो । जाँचपासपछि सुन लिएर ट्याक्सीबाट बाहिरिएका दुई जना सिनामंगलमा समातिएका हुन्, पछि तीन जना पक्राउ परेका छन् । विभाग स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयबाट ठूलो मात्रामा सुन चोरीपैठारी हुन लागेको सूचना राजस्व अनुसन्धान विभागलाई १० दिनअघि नै प्राप्त भएको थियो । भन्सार जाँचपास गरेर विमानस्थलबाट बाहिर ल्याइएको सुन बरामद भएपछि मंगलबारै भन्सार एजेन्टसँग केरकार गर्दा अरू दुई जनाको नाम खुलेको थियो । त्यसपछि बुधबार बुढानीलकण्ठबाट एक जना र जोरपाटीबाट अर्का व्यक्तिलाई पक्राउ गरेको विभाग स्रोतले जनाएको छ । मंगलबार बरामद गरिएको सुन नक्कली फर्म खडा गरी त्यसकै नाममा प्रज्ञापनपत्र खोलेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तस्कर गिरोहले सुन, विदेशी मुद्रालगायत अवैध वस्तु ओसारपसार गर्दा चेकजाँचमा कडाइ हुन नसकेपछि विमानस्थल भन्सार क्षेत्रमा प्रहरी उपस्थिति पनि गराउनुपर्ने माग उठिरहेको छ । तर, भन्सारले प्रहरी खटाउन मानेको छैन । त्यसको लाभ गिरोह र कतिपय अवस्थामा भन्सारकै कर्मचारीले उठाइरहेका छन् । केही दिनअघि मात्रै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सारमा प्रहरीको समेत उपस्थिति बढाउनेबारे कुराकानी भइरहेको जनाएका थिए । यसअघि विमानस्थलबाटै भित्रिएको तस्करीको सुन कारोबारीसँग हालै माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको समेत नाम मुछिएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्विन्टल सुन मंगलबार राति बरामद गरिए पनि यो प्रकरण बुधबार साँझ मात्र सार्वजनिक गरिएको थियो । किन यति लामो समय लाग्यो भन्नेमा अधिकारीले दुई तर्क गरेका छन् ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल