Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनमतको नेतृत्वमा मधेस प्रदेशमा सरकार बनाउने सहमति

धनुषा । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिएको छ । बिहीबार बसेको दलहरूको बैठकले जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ । जनमतको नेतृत्वमा सरकार बनाउने ५ दलबिच सहमति भएको भनिएपनि विज्ञप्तिमा भने ३ दलको मात्रै हस्ताक्षर रहेको छ । नेपाली कांग्रेससहित जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी मिलेर सरकार बनाउने पहल भइरहेको बेला प्रमुख दल एमाले, माओवादी केन्द्र र जनमतबीच यस्तो सहमति भएको हो । मधेशमा कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी मिलेमा बहुमत पुग्ने देखिन्छ । १०७ सदस्यीय प्रदेश सभामा कांग्रेसका २२, जसपा नेपालका १९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद गरि ५७ मत हुन्छ, जुन बहुमतका लागि आवश्यक ५४ भन्दा बढी हो । प्रदेशमा एमालेका २५, जनमतका १३ र माओवादी केन्द्रका ७ सांसद रहेका छन् । यसअघि एमालेका सरोज यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउने सहमति एमाले र माओवादीबीच भएको थियो । तर बुधबार देउवा निवासमा मधेश सरकार बनाउनेबारेमा उपेन्द्र यादवको जसपा नेपाल, लोसपा, नेकपा एकीकृत समाजवादी मिल्ने भएपछि बिहीबार एमाले–माओवादी जनमतलाई मुख्यमन्त्री दिन तयार भएका हुन् ।