Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जसपाका मन्त्री हटाइँदै

काठमाडौँ । सत्तामा भागवण्डा लिएर विपक्षी गठबन्धनमा पुगेको जसपाका मन्त्रीहरु बर्खास्तीमा पर्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् । तर, निर्वाचन आचारसंहिता लागू भइसकेकाले देउवा निर्वाचन आयोग र आफूनिकटका कानुन व्यवसायीसँग परामर्शमा छन् । जसपाले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेर उम्मेदवारी दिएसँगै उसका मन्त्रीहरूलाई हटाउन लागेको प्रधानमन्त्रीनिकट एक नेताले बताए । गठबन्धनको बैठकमा अदालत र आयोगमा परामर्श गरेर निर्णय लिने देउवाले जानकारी दिएका थिए । आयोगसँगको परामर्शपछि देउवाले जसपाका मन्त्रीलाई हटाउने तयारीमा पुगेका हुन् । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव मन्त्रिपरिषद्मा छन् । पाँच वर्षअघिको निर्वाचनका बेला कांग्रेस र माओवादीको सरकार थियो । माओवादीले एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जिम्मेवारी खोसेर बिनाविभागीय बनाएका थिए । प्रधानमन्त्री देउवाले प्रमुख निर्वाचन आयुक्तलाई उनीहरूलाई हटाएपछि नयाँ नियुक्ति गर्न मिल्ने वा नमिल्नेबारे परामर्शसमेत गरेको स्रोतले बतायो । सत्ता गठबन्धनले भन्दा एमालेले बढी सिट दिने भएपछि जसपाले एमालेसँग तालमेल गरेको हो । एमालेले जसपालाई प्रतिनिधिसभामा १७ र प्रदेशसभामा ४२ सिट दिने सहमतिअनुसार नै उम्मेदवारी परिसकेको छ । सत्ता गठबन्धनले भने जसपालाई १४ सिटको प्रस्ताव गरेको थियो । निर्वाचन आयोगका अनुसार जसपाले प्रदेशसभातर्फ प्रदेश १ मा ३५, मधेसमा ३५, वाग्मतीमा २३, गण्डकीमा १५, लुम्बिनीमा १९, कर्णालीमा ५, सुदूरपश्चिममा २ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, प्रतिनिधिसभातर्फ ८१ निर्वाचन क्षेत्रमा उम्मेदवारी परेको छ ।