Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जहाँ राजाले चलाउँछन् डुङ्गा र रेष्टुरेन्ट

तपाईंले दुनियाका ठूला–ठूला साम्राज्यका इतिहास तथा कहानीहरू पढ्नु तथा सुन्नुभएकै होला । इतिहासमा बेलायती साम्राज्य यति विशाल थियो कि त्यहाँ कहिल्यै सूर्य अस्ताउँदैनथ्यो । चङ्गज खाँको साम्राज्यले पनि विश्व भूगोलको ठूलो हिस्सामा आधिपत्य कायम गर्न सफल भएको थियो । इतिहासका यी विशाल साम्राज्यहरू आज अस्तित्वमा छैनन् । दुनिया आफ्नो काबुमा पार्ने बादशाहहरू सायदै अब दुनियामा जन्मिएलान् । दुनियामा आफ्नो साम्राज्य फैलाउने तागत अब सायदै कुनै मुलुक तथा शासकको होला । तर मान्छे न हो, दुनियाको बादशाह बन्न नसके पनि आफ्नै घर तथा टोलको स्वघोषित बादशाह बन्नसमेत पछि पर्दैन । त्यसैले होला, विश्वमा एक जना यस्ता बादशाह छन्, जसको राज्यमा जम्मा ११ जना मानिस बस्दछन् । नाम मात्रैका ती राजाले नोकर–चाकर कजाउने होइन, आफैँ डुङ्गा र होटल चलाएर गुजारा गर्दछन् ।

अनि कट्टु र चप्पलमा जिन्दगी बिताउँछन् । यस्ता राजाले शासन गर्ने उक्त राज्यको नाम किङ्गडम अफ टाभोलारा हो । इटालीको सार्डिनिया प्रान्तनजिक भूमध्य सागरमा एउटा सानो टापु छ । सोही टापुमा ती राजाको राजतन्त्र कायम छ । यो टापु राज्य इटाली भन्ने देश अस्तित्वमा आउनुअगाडिबाटै अस्तित्वमा छ । टाभोलारा टापुमा फैलिएको उक्त राज्यको क्षेत्रफल पाँच वर्ग किलोमिटर रहेको छ । उक्त टापुका राजाको नाम टोनियो बर्तलिओनी हो । उनी राजा हुन् तर उनको हुलिया तथा रहन–सहन पटक्कै राजर्षि छैन । एक राजाको रूपमा उनले पाउने सुविधा भनेको निःशुल्क भोजन मात्रै हो । त्यो पनि उनको आफ्नै रेष्टुरेन्टमा । राजा बर्तलिओनीका अनुसार उनका जिजुबाजेका बुबा गुसेप बर्तलिओनी सन् १८०७ मा एकै घरका दुई दिदीबहिनीसँग भागी बिहे गरेर इटालीबाट भाग्दै उक्त टापुमा आएका रहेछन् । त्यस समयमा इटाली छुट्टै देशको रूपमा थिएन तर सार्डिनिया सुबाचाहिँ एउटा अलग्गै साम्राज्यको रूपमा थियो । त्यहाँ दुई महिलासँग बिहे गर्नु कानुनविपरीत थियो । त्यसैले उनी सजायबाट बच्नका लागि उक्त टापुमा गएका रहेछन् । उनी सो टापुमा गएर बसोबास गर्न थाले ।

सो टापुमा सुनौला दाँत भएको प्रजातिको बाख्रा पाइने रहेछ । त्यसका बारेमा सार्डिनियाका राजाले थाहा पाए र बाख्राको सिकार गर्न टाभोलारा टापुमा पुगे । सार्डिनियाका राजा बाख्राको सिकार गर्न गएको बेला गुसेपका छोरा पाओलेले राजालाई सहयोग गरे । गुसेपले चाहिँ आफू त्यो टापुको राजा भएको भन्दै सार्डिनियाका राजासँग मित्रता गरे । सार्डिनियाका राजा तीन दिनसम्म सो टापुमा बसेर घर फर्किए । सार्डिनिया फर्किएपछि ती राजाले टाभोलारा टापु छुट्टै राज्य भएको घोषणा गरिदिए । त्यसपछि गुसेपका छोरा पाओलेले आफूलाई राजा घोषणा गरे । त्यस बेला त्यो टापुमा ३३ जना बस्दथे । रोचक त के भने इटालीका संस्थापक मानिने गुसेप ग्यारीबाल्डीले समेत टाभोलाराका राजासँग शान्ति सम्झौता गरेका थिए ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल