Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जेठ २१ भित्र सदस्यता अद्यावधिक गर्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण तथा अद्यावधिकको काम आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न मातहत तहलाई निर्देशन दिएको छ ।

बिहीबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठक पार्टीका महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बैठकले सदस्यता अभिलेखीकरणलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने र नेपाली कांग्रेसलाई सबैभन्दा सशक्त सदस्य नेटवर्क भएको पार्टी बनाउने लक्ष्यसहित विभिन्न डिजिटल माध्यम सञ्चालनमा ल्याइएको जनाएको छ ।

अब प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलमार्फत अनलाइन फारम भरेर सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि पार्टीको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको समितिले जनाएको छ ।

अनलाइन अद्यावधिकमा समस्या आएमा ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरी एआई सहायतामार्फत सहयोग लिन सकिने व्यवस्था गरिएको छ । साथै, केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रमार्फत पनि समस्या समाधान गर्न सकिने बताइएको छ । सोही नम्बरमा फोन गरी सोधिने प्रश्नहरूको उत्तर दिएर फोनबाटै अद्यावधिक फारम भर्ने सुविधा समेत उपलब्ध गराइएको समितिले जनाएको छ ।

विदेशमा रहेका नेपाली कांग्रेससँग आवद्ध ‘नेपाली जनसम्पर्क समिति’हरूका लागि पनि ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको छ ।

समितिले सदस्यता अद्यावधिक नगर्ने तथा कांग्रेस परिचयपत्र (एनसी आईडी) नलिने व्यक्तिले पार्टीको १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने विधानमा व्यवस्था रहेको उल्लेख गर्दै तोकिएको समयभित्रै अद्यावधिक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ ।


सम्बन्धित समाचार