Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जेनजीका नाममा झुण्ड झुण्डका पार्टी

काठमाडौं । युवा विद्रोह स्थिरताका लागि थियो । त्यो स्थिरता एउटा शक्तिशाली पार्टीले मात्रै दिन सक्छ । तर युवाहरु अहिले त्यो स्थिरताको पक्षमा लाग्लान् जसतो देखिँदैन । शनिबार जेनजी प्रतिनिधि मिरज ढुंगानाले दल खोल्ने घोषणा गरे। तर, आफ्ना विभिन्न सर्त पूरा नहुञ्जेल चुनावमा भाग नलिने बताए। जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित र भ्रष्टाचार नियन्त्रणको लागि नागरिक तहको निकाय बन्दैन, तबसम्म हामी निर्वाचनमा जाने छैनौँ, उनले भनेका छन्। आन्दोलनमा सहभागी नभए पनि एउटा समूहको अगुवाइ गरिरहेका उनले दलको नामलगायतका तयारीका लागि समिति गठन गरिएको बताए। मिरज मात्र होइन, जेनजी आन्दोलनबाट जन्मिएका अनेकौँ समूहले दल खोल्ने कसरत गरिरहेका छन्। भ्रष्टचारको विरुद्धमा आवाज उठाउँदै सुरु गरिएको आन्दोलनपश्चात् नयाँ–नयाँ माग र एजेन्डाका साथ फरक–फरक जेनजी समूह बनेका छन्। उनीहरुबीच सैद्धान्तिक र व्यावहारिक हिसाबले बेमेल छ। फागुन २१ का लागि आम चुनाव घोषणा भइसकेको छ। त्यसका लागि दल दर्ता गर्ने मिति नजिकिँदै जाँदा जेनजी समूहबाट कम्तीमा चारवटा पार्टी गठनको तयारी भइरहेको छ। हरेक समूहले अन्य सबै समूहलाई गोलबद्ध गर्ने बताउँदै आएका छन्। जेनजी आन्दोलनपछि सरकारले गर्ने हरेक निर्णयमा सक्रिय सहभागी देखिएका सुदन गुरुङको समूह पनि दल गठनको तरखरमा छ। गुरुङको समूहले सम्पूर्ण जेनजी प्रतिनिधि लगायत युवाहरूलाई समेत एकसाथ जोडेर अघि बढ्नेबारे विभिन्न समूहहरूसँग छलफल गरिरहेको सुदननिकट जेम्स कार्की बताउँछन्। सुदनले नयाँ दल गठनबारे रास्वपा छोडेकी निवर्तमान सांसद सुमना श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग समेत छलफल गरिरहेको कार्कीको भनाइ छ। तिहार आसपास तयारी गर्ने र तिहारलगत्तै दल गठन गर्ने कुरा पक्का भएको कार्कीले दाबी गरे। तर दलमा को–को आउँछन्, अहिले नै भन्न नसकिने उनको भनाइ छ। बालेन, सुमना र सुदनलाई एकैठाउँमा ल्याउन आफूले पनि सहजीकरण गरिरहेको फिल्म निर्देशक निश्चल बस्नेतले बताएका छन्।
उता रक्षा बम नेतृत्वको एउटा समूह पनि दल खोल्ने कसरतमा छ। फागुनमा हुने चुनावको लागि दल गठनको विषयलाई लिएर कसरी अगाडि बढ्ने भन्ने विषयमा आफूहरुले सोच–विचार गरिरहेको र एक हप्ताभित्रमा निर्णयमा पुग्ने बमले बताइन्। उनले आन्दोलनको म्यान्डेटमा रहेर नै आफ्नो समूहले काम गर्ने बताइन्। आफ्नो समूहमा युजन राजभण्डारी, प्रदीप ज्ञवाली लगायतका व्यक्तिहरू रहेको उनी बताउँछिन्। प्रदेश स्तरमा पनि मोर्चा निर्माणको पहल भइरहेको उनले जानकारी दिइन्।
भदौ २३ गते जेनजी आन्दोलनका लागि सीडीओ कार्यालयमा अनुमति लिने जेनजी प्रतिनिधि पुरुषोत्तम यादवले भने आफ्नो तयारीबारे केही बोलेका छैनन्। तथापि, उनको नाम अनेक समूहसँग जोडिने गरेको छ। उनी पनि सबैलाई समेटेर चुनाव लड्ने पक्षमा आफू रहेको बताउँछन्। यादव प्रायः अर्का प्रतिनिधि प्रवेश दाहालसँगै देखिन्छन्। नयाँ दल गठनबारे जानकार स्रोतहरू चाहिँ यादवले सुदनसँगै मिलेर अगाडि बढ्ने तयारी गरिरहेको बताउँछन्।
जेनजी आन्दोलनमा सहिद भएकाहरूका परिवारले पनि छुट्टै पार्टी निर्माण गरेर आउँदो चुनावमा लड्ने बताएका छन्। सहिद श्रेयम चौलागाईंका बुवा गणेश चौलागाईंले सहिद परिवारलाई अग्रपंक्तिमा राखेर दल गठन गर्ने बताए। आन्दोलनमा आफ्ना छोराछोरी सहिद भएको, तर सरकारले आफूहरूलाई नजरअन्दाज गरेको भन्दै आन्दोलनको एक महिनापछि उनीहरुले विभिन्न माग राखेका छन्। सहिद परिवारका सदस्यहरूले बसेर मसौदा तयार गरिरहेको उनको भनाइ छ। अब बन्ने दलको नेतृत्व कसले गर्ने भन्नेबारे छलफल जारी रहेको तर सहिद परिवारकै योग्य सदस्यले नेतृत्व लिने उनले बताए।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल