Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जेल परेकी महिलाले जन्माइन् बच्चा, बाबु खोज्दा को को भरङ्ग

दाङ । बैंकिङ कसुरमा जेल सजाय खेपिरहेकी एक महिलाले बच्चा जन्माएकी छन् । जन्मिएको बच्चाको बाबु प्रधानमन्त्री शेरबहादुर देउवा निकट डडेलधुराका एक नेता भएको उनको दाबी छ । बाँकेको जानकी गाउँपालिका ४ खुद्रा खजुराकी मोनिका थापा (नाम परिवर्तन) राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गत असार ६ गते छोरा जन्माएकी हुन् । उनले आफू अविवाहित भएको बताएकी छन् । जेलमै बेथा लागेपछि उनलाई सो अस्पताल पुर्‍याइएको थियो । डडेल्धुराका रघुवर भट्टसँग सहमतिमा राखेको सम्बन्धबाट बच्चा जन्मिएको उनको भनाइ छ ।

मोनिका ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लमहीकी फिल्ड सहायक हुन् । उनलाई सो संस्थाले रकम हिनामिना गरेको भन्दै पदबाट निलम्बन गर्नुका साथै बैंकिङ कसुरमा मुद्दा दायर गरेको थियो । त्यसपछि अदालतमा कानूनी प्रक्रिया चल्दै गर्दा उनी बहिनीसँग काठमाडौं बस्न थालिन् । काठमाडौं बसाइका क्रममा सानैदेखि चिनजान भएका डडेल्धुराका रघुवर भट्टसँग गएको वैशाख जेठबाट फेसबुकमा कुराकानी सुरु भएको मोनिकाको भनाइ छ ।

पीडितको बयान
‘च्याटमा हाम्रो कुराकानी हुन्थ्यो । उसले मलाई ‘बुढी’ भन्न थाल्यो । मैले सानैबाट तिमीलाई चाहेको हो, तिम्रो घरमा मम्मी–ड्याडीसँग कुरा गर्छु पनि भन्थ्यो । तर मैले घरमा एकदम टेन्सन छ, तपाईँसँग बिहे गर्न सक्दिनँ भनेको थिएँ । ड्याडीको उमेरको मान्छे तपाईँलाई ड्याडीले कसरी ज्वाइँ भन्नुहुन्छ भनेर आलटाल गरेँ । पछि असोजको महिना काठमाडौंमा फिजिकल रूपमा भइसकेपछि टाइम टाइममा सेक्सुअल रिलेसन भयो । म प्रेग्नेन्ट छु भन्ने उसले नै भिडिओ कलमा मलाई जानकारी गराएको हो । टाइम–टाइममा एबोर्सन गर्नु भन्थ्यो । मैले तपाईँ आउनुहुन्छ भने गर्छु, एक्लै गर्दिनँ भनेँ ।
फिजिकल रिलेसनपछि पनि सेफ्टी पिल्स खाऊ भन्नुहुन्थ्यो । तपाईँले किनेर दिनुहुन्छ भने खान्छु, आफैँले चाहिँ मेडिकलमा यस्तो सामान किन्दिनँ भनेर आफैँले किनेर नखाएको हो । मोनिकाका अनुसार उनीहरूले दिनहुँजसो सहमतिमै काठमाडौंका विभिन्न होटलमा शारीरिक सम्बन्ध राखेका थिए । बाबु उमेरका रघुवरसँग प्रेममा पर्दा मोनिकालाई उनी विवाहित र सन्तानका बाबु हुन् भन्ने थाहा नभएको होइन । त्यसका बाबजुद पनि उनले कुनै सचेतता अपनाइनन् ।
गत असोजमा मोनिकाले आफू गर्भवती भएको थाहा पाइन् । त्यसपछि रघुवरले आफूसँग भेटघाट बन्द गरेको उनको भनाइ छ । रघुवरले एबोर्सन गर्न दिएको दबाब पनि पन्छाउँदै मोनिकाले पेटमा गर्भ हुर्काइरहिन् । मोनिका गर्भवती भएको ९ महिना पुग्नै लाग्दा जेठ १९ गते उच्च अदालत तुलसीपुरले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश गर्‍यो । धरौटी बुझाउन नसकेपछि उनी पूर्पपक्षका लागि तुलसीपुर कारागार चलान भइन् ।
मोनिकाका अनुसार कारागार बसाइँका क्रममा पनि उनी रघुवरलाई फोन गरिरहन्थिन् । त्यस बेला रघुवरले आफूलाई सहयोग गर्ने बचन दिएको उनले बताइन् । जेल बसाइकै क्रममा मोनिकालाई बेथा लागेपछि कारागार प्रशासनले असार ६ गते बेलुकी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगेर भर्ना गर्‍यो । उनले सोही राती ९ः०४ बजे छोरा जन्माइन् । शल्यक्रिया गरेर उनको बच्चा निकालिएको थियो । छोरा जन्मेपछि अस्पतालको शैयाबाट रघुवरलाई ‘तपाईँको छोरा जन्माएँ’ भनेर खबर सुनाइन् । तर, रघुवरले ‘तँ को हो रु म चिन्दैन’ भनेर जवाफ फर्काएको उनको भनाइ छ । रघुवरले आफ्नो नाता प्रमाणित र छोराको जन्म दर्ता गराइदिनुपर्ने ३६ वर्षीया मोनिकाको माग छ ।