Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जोखिम र दबाबमा बैङ्करहरू

काठमाडौँ । एकातिर नाफा बढाउनुपर्ने तनाव र अर्कोतिर जोखिम कम गर्नुपर्ने दबाबले बैङ्करहरू यति बेला चौतर्फी तनावमा छन् । पुँजी वृद्धि, शाखा विस्तार एवं लगानी विस्तारका साथै प्रविधिसमेतको विस्तारले बैङ्कको व्यवसाय बढेको त छ नै, साथमा जोखिम पनि बढिरहेका छन् । बैङ्करहरूलाई व्यवसाय विस्तार र जोखिम न्यूनीकरण बीचमा सन्तुलन कायम गर्न हम्मेहम्मे परिरहेको छ । एउटा बैङ्कसँग त्यसका सेयरधनी, सहकार्य गर्ने संस्थाहरू, कर्मचारी एवं ग्राहकसमेत जोडिएका हुन्छन् । सबैको चित्त बुझाउनका लागि बैङ्कलाई नाफा कमाउने दबाब हुन्छ । सेयरधनीले सेयरको मूल्यवृद्धिका साथमा बोनसको अपेक्षा गरेका हुन्छन् । कर्मचारीले तलब वृद्धि चाहन्छन् त ग्राहकले थप सेवा सुविधा चाहन्छन् । यी सबै कुरालाई ध्यानमा राखेर प्रत्येक वर्ष नाफा बढाउँदै जानुपर्ने दबाब बैङ्करलाई हुन्छ । नाफा घट्नेबित्तिकै सेयरधनी हच्किन्छन् । त्यसमाथि प्रतिस्पर्धात्मक बजार छ । अरू बैङ्कको भन्दा राम्रो गर्नुपर्ने दबाब पनि सञ्चालक समितिबाट आउँछ ।
बैङ्करले नाफा बढाउने मात्रै भनेर नियमविपरीत काम गर्नु पनि भएन । व्याजदर, निक्षेप सङ्कलन, कर्जा लगानीलगायत हरेक कुरामा राष्ट्र बैङ्कको नियमअनुसार चल्नुपर्ने हुन्छ । माग आयो भन्दैमा कर्जा लगानी गर्न पाइँदैन । केन्द्रीय बैङ्कले तोकेको क्षेत्रमा लगानी पु¥याउनुपर्छ । व्याजदर पनि नियमअनुसार लगाउनुपर्छ । घरजग्गा, गाडी जस्ता नाफा मात्र हुने तर देशलाई फाइदा नहुने कुराहरूमा कर्जा विस्तार गर्न राष्ट्र बैङ्कले कडाइँ गरेको छ । उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दा प्रतिफल पाउन अलिक समय लाग्छ ।
नियमविपरीत काम गर्नेबित्तिकै बैङ्किङ कसुर लाग्ने डर हुन्छ । अहिले यस्ता घटना थुप्रै बाहिरिरहेका कारण अझ बढी कडाइँ भएको छ । आफ्नो मात्र फाइदा हेरेर नियमविपरीतका योजनाहरूमा लगानी गर्दा कुनै न कुनै बेला फसिन्छ । साथमा बैङ्कलाई पनि हानि हुन्छ । खराब कर्जा बढ्ने जस्ता समस्या यसै कारण आउन सक्छ ।
अहिले त सम्पत्ति शुद्धीकरणमा पनि थप कडाइँ गरिएको छ । बैङ्करले असामान्य ढङ्गले सम्पत्ति कमाएको थाहा हुनेबित्तिकै छानबिन हुन्छ । दोषी पाइएमा पूरै करिअर नै समाप्त हुन्छ । सर्वसाधारणको पैसाको जतन गर्ने एवं सही ठाउँमा लगानी गरी प्रतिफल दिने एक संवेदनशील संस्था हो बैङ्क । बैङ्करले नै यस विषयलाई नबुझ्ने हो भने ठूलो सङ्कट आइपर्छ । त्यसैले सम्पत्ति शुद्धीकरणमा कडाइँ गर्दै जोखिम न्यूनीकरण गर्न खोजिएको छ ।
प्रविधिको विकास एवं विस्तारसँगै त्यसको दुरूपयोग गर्नेको सङ्ख्या पनि बढ्दै गइरहेको छ । विश्वव्यापीरूपमा नै ह्याकरहरूको बिगबिगी छ । ह्याकरको डरले प्रविधिको प्रयोग नगरेर पनि भएन । प्रविधिको प्रयोगले व्यवसाय विस्तारमा सहयोग पु¥याउँछ भने ग्राहकलाई पनि सहजता प्रदान गर्दछ । त्यसैले प्रविधिको प्रयोगमा सुरक्षा अपनाउनु पनि एक बैङ्करका लागि चुनौतीको विषय बनेको अवस्था छ । बैङ्करले आफ्नो विकास नभई बैङ्कको दीर्घकालीन विकासको बारेमा सोच्नुपर्छ । बैङ्कको विकाससँगै त्यससँग सम्बन्धित सबै पक्षको विकास हुन्छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल