Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । कोरोना महामारीबाट छुटकारा पाउने एउटै मात्र विकल्प भ्याक्सिन भएको कुरा विज्ञहरुले बारम्बार बताए पनि सरकारले खोप खरिदमा खासै चासो दिएको छैन । कोभिड–१९ विरुद्घका दुवै मात्रा खोप लिएका ‘स्वस्थ व्यक्ति’ कसैको पनि हालसम्म संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार दुवै मात्रा खोप लिएकामध्ये धेरै कमलाई संक्रमणको लक्षण देखिएको छ र उनीहरूमा जटिल समस्या पाइएको छैन । दुवै मात्रा खोप लिएका व्यक्तिहरूमा मुलुकभित्र छुट्टै विस्तृत अध्ययन भने गरिएको छैन । त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासका अनुसार दुवै मात्रा खोप लिएका ७४ वर्षीय एक पुरुषको शिक्षण अस्पतालमा मृत्यु भए पनि उनी रगतको क्यान्सरका बिरामी थिए । शिक्षण अस्पतालमा महामारीको पहिलो लहरमा १ सय ६० र दोस्रो लहरमा करिब ३ सय जनाको संक्रमणले मृत्यु भएको तथ्यांक छ । शिक्षण अस्पतालमा एक मात्रा खोप लगाएका २१ जना र दुई मात्रा खोप लगाएका एक जनाको मृत्यु भएको थियो । वीर अस्पतालमा दुई मात्रा खोप लगाएका कसैको पनि मृत्यु नभएको कोभिड फोकल पर्सन डा. अच्युत कार्कीले जानकारी दिए । निजामती कर्मचारी अस्पतालका कोभिड फोकल पर्सन डा. सुमनबाबु मरहट्टाका अनुसार त्यहाँ पनि दुई मात्रा खोप लगाएकाको मृत्यु रेकर्ड भएको छैन । दोस्रो लहरमा कुनै स्वास्थ्य समस्या नभएका र खोप नलिएका ३० वर्षे युवकको समेत गरी ४० जनाको उक्त अस्पतालमा मृत्यु भएको थियो । सेती प्रादेशिक अस्पताल धनगढीका कोभिड फोकल पर्सन डा. शेरबहादुर कमरका अनुसार त्यहाँ पनि दुई मात्रा खोप लगाएका व्यक्तिको मृत्यु भएको छैन । कोभिड–१९ बाट शनिबारसम्म ८ हजार ६ सय ७५ जनाको मृत्यु भइसकेको छ भने ६ लाख १९ हजार ३ सय ६५ संक्रमित भएका छन् । मृत्युदर १।६ प्रतिशत छ । कोभिड–१९ विरुद्धको खोप भने ७ लाख ३१ हजार ६ सय ५३ जनाले दुई मात्रा र २५ लाख एक सय ९६ जनाले एक मात्रा लिएका छन् । उनीहरूलाई भारतमा उत्पादित कोभिसिल्ड र चीनमा उत्पादित भेरोसेल खोप लगाइएको हो । स्वस्थ व्यक्तिले दुई मात्रा खोप लगाएको २ साता भइसकेपछि संक्रमण भएर ज्यान गएको जानकारी हालसम्म प्राप्त नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारी बताए । उनका अनुसार एक मात्रा खोप लगाएको दुई सातापछि संक्रमित भएकामा समेत मृत्यु न्यून देखिएको छ । कोभिड–१९ विरुद्धको दुई मात्रा खोप लिएका थोरैमा मात्र संक्रमण देखिएको छ भने उनीहरूमा जटिलतासमेत अत्यन्त कम पाइएको छ । एक मात्रा खोप लिएको दुई–तीन साता बितेका व्यक्तिमा कोभिड संक्रमणको जटिलता कमी देखिएको चिकित्सकहरू बताउँछन् । निजामती अस्पतालमा कोभिडको दोस्रो लहरमा ६ जना डाक्टरसहित २२ देखि ५६ वर्षसम्मका २१ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई संक्रमण देखिएको थियो । उनिहरूले दुवै मात्रा खोप लिएका थिए । तीमध्ये २ जनालाई मात्र अस्पतालमा भर्ना गर्नुपर्यो । उनीहरूमा पनि मध्यम किसिमको लक्षण देखिएको थियो । तर सरकारको आलटाले प्रवृत्तिले जनताको बाँच्ने आशामाथि प्रहार गरिरहेको छ । जताबाट छिटो हुन्छ त्यतैबाट खोप खरिदमा लाग्नुपर्ने बेलामा छिमेकी भारत रिसाउला कि भनेर बाटो कुर्दा उत्तरी छिमेची चीनसँग खोप खरिदको निर्णय भए पनि प्रक्रया अघि बढेको छैन ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल